महाकवि देवकोटाको जन्मजयन्तीमा सयपत्री प्रतिष्ठानद्वारा राष्ट्रिय सम्मान–२०८२ प्रदान कार्तिक १, शनिबार २०८२

+
-

 

कार्तिक १, शनिबार २०८२
काभ्रेपलान्चोक । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्तीको अवसरमा सयपत्री प्रतिष्ठानले ‘राष्ट्रिय सम्मान–२०८२’ भव्य रूपमा सम्पन्न गरेको छ। प्रतिष्ठानले यस वर्ष दम्पती सम्मानको नयाँ संस्कृति विकास गर्दै वरिष्ठ साहित्यकार प्रा. डा. रामप्रसाद दाहाल र उहाँकी जीवनस‌ङ्गिनी चन्दा कोइराला दाहाल, साथै काभ्रेली साहित्यकार डा. अनन्तप्रसाद अधिकारी र उहाँकी जीवनस‌ङ्गिनी नर्वदा खनाल अधिकारीलाई सम्मान प्रदान गरेको हो।

कार्यक्रमको अध्यक्षता संस्थाका सल्लाहकार, वरिष्ठ साहित्यकार तथा जनमत प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले गर्नुभयो भने प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा. डा. रामप्रसाद ज्ञवाली रहनु भएको थियो।

कार्यक्रममा बोल्दै डा. ज्ञवालीले साहित्यकार मोहन दुवालको खुलेर प्रशंसा गर्नुभयो। देशको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो, “देश जलिरहेको छ, छिमेकीको घर जोगाउन नसक्नु दुःखको विषय हो।” उहाँले सामाजिक र सांस्कृतिक चेतनाको आवश्यकता औंल्याउँदै सयपत्री प्रतिष्ठानको सम्मान परम्पराको प्रशंसा गर्दै थप्नुभयो— “सयपत्रीले ‘सधैं सम्मान गर, तिमी सम्मानित हुनेछौ’ भन्ने नयाँ संस्कृति विकास गरेको छ।”

डा. ज्ञवालीले देवकोटाको योगदान स्मरण गर्दै भन्नुभयो— “देवकोटा जय पृथ्वी बहादुर जस्तै दूरदर्शी थिए। उनले जात, धर्म र संस्कृतिका सीमाना तोडेका थिए र शेर्पिनी, तामाङनी जस्ता पात्रलाई नायिका बनाए।” उहाँका अनुसार देवकोटाको साहित्य नेपालमै सीमित छैन, “अफ्रिका र एसियामा पनि उनको प्रतिभा रुचाइन्छ, रुसका कार्यक्रममा समेत उनको प्रशंसा गरिएको छ।”

कार्यक्रममा कलाकार मच्छेश्वर सापकोटा दम्पती र रामहरि न्यौपानेले गीतमार्फत मनोरञ्जन प्रस्तुत गर्नुभयो। दुई दर्जनभन्दा बढी कविहरूले आफ्ना रचना वाचन गरेका थिए भने विभिन्न वक्ताहरूले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे।

सम्मानित व्यक्तित्वहरूलाई दुबोको माला, दाेसल्ला, पुरुषलाई सर्ट र महिलालाई पछ्यौरा ओढाइएर सम्मान गरियो। साथै तिहारको अवसरमा भाइमसला र फलफूल पनि प्रदान गरियो।

सम्मानित डा. रामप्रसाद दाहाल र डा. अनन्तप्रसाद अधिकारीले सयपत्री प्रतिष्ठानको कार्यप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै “सयपत्रीको कामको मूल्यांकन गर्ने शब्द नै भेटिएन” भन्ने भावना प्रकट गर्नुभयो।

कार्यक्रमको सञ्चालन सचिव रामसुन्दर देउजाले गर्नुभयो। सोही अवसरमा प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठले आफ्ना स्वर्गीय मातापिताको स्मृतिमा स्थापना गरिएको ‘सयपत्री रामभक्त–भुवनदेवी स्मृति छात्रवृत्ति’ वितरण गर्नुभयो।
छात्रवृत्तिअन्तर्गत जनज्योति माध्यमिक विद्यालयका २०८२ सालको एसईई परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने दुई विद्यार्थीलाई प्रमुख अतिथिबाट प्रशंसा पत्र र जनही ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो।