बाँके । बाँकेमा एक साताभित्र तीन हजार ११९ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोप लगाइएको छ ।
यही असोज १ गतेदेखि सुरु भएको खोप जिल्लाका विद्यालयका कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय बाहिरका १० वर्ष उमेर समूहका किशोरीलाई लगाइएको जिल्ला स्वाथ्य कार्यालयले जनाएको छ ।
जिल्लाका आठ स्थानीय तहमध्ये नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका र डुडुवा गाउँपालिकामा खोप लगाइएको हो ।
जिल्लामा कक्षा ६ का चार हजार ३८० र विद्यालय बाहिरका १० वर्ष उमेर समूहका करिब पाँच हजार ६९१ किशोरीलाई खोप लगाउने लक्ष्य छ । स्वास्थ्य कार्यालयका खोप सम्पर्क व्यक्ति देवनारायण उपाध्यायले खोप अभियान प्रभावकारी रुपमा सञ्चालन भएको जानकारी दिनुभयो ।
पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रदान गरिने एचपिभी खोपलाई सरकारले नियमित खोप कार्यक्रममा समावेश गरेको जानकारी दिँदै समन्वयकर्ता उपाध्यायले महिनावारी सुरु हुनुअघि एचपिभी खोप लगाउँदा प्रभावकारी हुने जानकारी दिनुभयो ।
एचपिभी खोपको पहुँच ९९ प्रतिशतभन्दा बढी लक्षित किशोरीमा पु¥याउन सके पाठेघरको मुखको क्यान्सर रोकथाममा महत्वपूर्ण सहयोग पुग्ने उहाँको भनाइ छ ।
नेपालमा औसतमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरका कारण चार जना महिलाको मृत्यु हुने गरेको बताइएको छ । गत वर्ष बाँकेमा ३३ हजार ७५९ जनालाई सो खोप लगाइएको थियो । नेपालमा महिलालाई लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो धेरै देखिने र मृत्यु गराउने प्रमुख कारण भएको बताइएको छ ।
उक्त खोपले ९५ प्रतिशतभन्दा बढी सुरक्षा प्रदान गर्ने विश्वास गरिएको छ । सरकारले नौदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरी उक्त खोप अभियान सञ्चालन गर्दै आएको छ ।


