बिचार/ब्लग

राजनीतिक चेतना र अराजकता

रामेश्वर आचार्य ,युवा नेता 

बदलिँदो राजनीतिक चेतना भनौं या भौमण्डलीकरणको प्रभाव, वा देखासिकीको प्रवृत्ति — विश्वभर नै समय–समयमा विभिन्न राजनीतिक तथा सामाजिक परिवेश, नीति, व्यवस्था, प्रणाली र प्रवृत्तिगत असन्तुष्टिका सञ्चारले द्वन्द्व, विद्रोह तथा आन्दोलनका रूप र आकार ग्रहण गर्दै आएका छन्। अफ्रिकी अन्योल होस् या मध्यपूर्वको तनाव, दक्षिण एशिया वा अन्य क्षेत्रगत भड्काउ — यी सबैले आ–आफ्नै किसिमका आँधीहुरी सिर्जना गरिरहेका छन्, जसले केही न केही परिवर्तन अवश्य दिएका छन्। स्थिरता वा अराजकताका यी भाषाबाट आज सारा विश्वजगत अघि बढिरहेको छ।

जीवनसंघर्षको पाटो, परिवर्तनको चाहना, या शासन–सत्ताको क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मोहले सिर्जना गरेका यस्ता अराजकताहरू प्राकृतिक प्रकोपभन्दा कयौं गुणा बढी खतरनाक र दुखदायी छन्। तीले क्षति, पछौटेपन र अन्योल बोकेका छन् र निरन्तर चलिरहेकै छन्।

हाम्रो सन्दर्भमा पनि, विगतका झैं, यसपटकको परिवर्तनको आक्रोश र अराजकता मिश्रित विद्रोहको सानो ज्वालामुखी भदौ २३/२४ मा प्रकट भयो। विशेषतः सामाजिक सञ्जालमार्फत सुरु भएको सुशासन र उत्तरदायित्वको मागसँग सम्बन्धित स्वतन्त्र विरोध पछि सत्ता–परिवर्तन, अराजकता, विध्वंस र ‘इगो व्यवस्थापन’सम्म पुगेको देखियो। व्यक्ति, उद्योग, राजनीति, राष्ट्रिय सम्पत्ति र प्रणाली नै त्यसको केन्द्रमा परे। यसले विगतका परिवर्तन–प्रयासहरूलाई समेत पृथक रूपले प्रभावित गरेको छ।

हरेक दशकले एउटा विद्रोह बोकेको र अराजकता व्यहोरेको नेपाली समाज र राजनीति सन् २००७ सालदेखि २०८२ सम्म आइपुग्दा भिन्न स्वार्थ र अर्थको कुटिल प्रयोगशालामा रूपान्तरण भएको छ। २००० यताका हरेक दशकका घटना र प्रतिघटनाका प्रभाव र प्रवृत्तिले हाम्रो सामाजिक तथा राजनीतिक चेतना र विकासलाई प्रत्यक्ष असर पारेका छन्। राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति, तिनको प्रभाव, उपस्थिति र निर्देशनात्मक पक्ष समय–समयमा स्पष्ट देखिनु हाम्रो स्वाधीनताको दृष्टिले एक दुखद पक्ष हो। यो हाम्रो दुरदृष्टिको अभाव र आपसी अविश्वासकै परिणाम हो।

प्राकृतिक, सामाजिक र मानवीय दृष्टिले सबल र सक्षम हुँदाहुँदै पनि आन्तरिक स्थिरता र परिपक्वताको कमीले हाम्रो अवस्था पछाडि परेको स्पष्ट देखिन्छ। अराजकता, दण्डहीनता, पारदर्शिताको अभाव, अनियमितता, तथा योजना निर्माण र कार्यान्वयनमा कमजोरीले राज्य–प्रणाली सधैं कमजोर र अस्थिर रहँदै आएको छ।

राजनीतिक नाममा भएका अपराध र अराजकता नियन्त्रण गर्न नसक्नु हाम्रो अर्को गम्भीर भूल हो, जसले थप अस्थिरताको बीजारोपण गरिरहेको छ। यसले समयक्रममा परिवर्तनको मुखुण्डो पहिरिएर अपराध, अराजकता, भ्रष्टाचार र कुशासनलाई बढाएको छ। विधि र प्रणाली मिचेर पार्टी र राज्यसत्ता कब्जा गर्ने प्रवृत्ति, अपारदर्शिताको होली खेल्ने संस्कार, तथा कानुन कार्यान्वयनलाई निस्प्रभावी बनाउने प्रवृत्ति हावी हुँदा देश हरेक दशक थप जर्जर बन्दै गएको छ। यो प्रवृत्ति यसपटक पनि पुनः देखा परेको छ, जुन अझ गम्भीर विषय हो। सिर्जनशीलता र नविनताका पक्षहरू कमजोर हुँदै जानु हाम्रो भविष्यका लागि हानिकारक छ।

यसको समाधानका लागि दिगो विकास र स्थिरताको पूर्वशर्त हो — राज्यको बलियो उपस्थिति। राज्य, नीति र व्यवस्था सुदृढ बनाउनुको विकल्प छैन। त्यसका लागि कानुनी छिद्रहरू निराकरण गर्दै विगतबाट पाठ सिकेर अघि बढ्नुपर्छ। कानुनको कार्यान्वयन, पारदर्शिता, र सबै खालका अपराध तथा अराजकता नियन्त्रण नै प्रमुख शर्त हुन् — जुन कुनै हालतमा पूरा गर्नैपर्छ।

राज्यका नियन्त्रणकारी र नियमनकारी निकाय बलिया हुनुपर्छ। सबै खालका विवाद, विभाजन र अराजकताको व्यवस्थापन र निस्तेजीकरणपछि मात्र स्थायित्व सम्भव हुन्छ — र यही आजको प्रमुख आवश्यकता हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *