मनोरञ्जन

काभ्रेली आवाज´ र ‘गाउँ बिरानो भयो’ २ पुस्तक लोकार्पण सम्पन्न

२०७८ असोज २५, शनिबार
काभ्रेपलाञ्चोक। प्रगतिशील लेखक संघ काभ्रेको आयोजनामा कवि तथा स्रष्टाहरूको साझा सिर्जनासंग्रह ‘काभ्रेली आवाज’ र कवि मुरहरि रायमाझी ‘हरि’को एकल काव्यसंग्रह ‘गाउँ बिरानो भयो’ सार्वजनिक गरिएको छ।  नियमित काव्य गाेष्ठीमा `स्रष्टा विशेष अन्तर्गत कवि नवराज उत्साहीले ४ बटा उत्कृष्ट रचनाहरु प्रस्तुत गर्नु भएको थियो । बनेपामा आयोजित विशेष समारोहबीच दुवै पुस्तकहरूको लोकार्पण गरियो।

कार्यक्रमको प्रमुख अतिथि प्रलेसका पूर्व अध्यक्ष डा. जिवेन्द्रदेव गिरिले ‘काभ्रेली आवाज’ काव्यसंग्रहमाथि समालोचनात्मक टिप्पणी गर्दै, संग्रहमा समावेश कविताहरूले समाजको यथार्थतालाई उजागर गर्ने प्रयास गरेको बताउनु भयो। उहाँका अनुसार संग्रहमा ४१ जना स्रष्टाका ५९ वटा रचना समावेश छन्, जसले नारी चेतना, सामाजिक विद्रोह, राजनीतिक बेथिति, पर्यावरण लगायतका विषय समेट्न सफल भएका छन्।

त्यस्तै, ‘गाउँ बिरानो भयो’ काव्यसंग्रहबारे समीक्षा गर्दै शब्द यात्रा प्रकाशनका अध्यक्ष तथा वरिष्ठ साहित्यकार हरि मञ्जुश्रीले कवि रायमाझीका कविता प्रकाशनपूर्व नै समीक्षा भइसकेको स्मरण गर्नुभयो। रायमाझीले पुस्तक प्रकाशन अगावै विभिन्न विद्वानहरूबाट भूमिका लेखाउन अनुरोध गर्नु, पुस्तकको गम्भीरता र महत्व दर्शाउने पक्ष भएको उहाँको भनाइ थियो। मञ्जुश्रीले कविले छोराछोरी र नातिनीतर्फ साहित्यमा लागेको प्रेरणादायी पहलप्रति पनि प्रशंसा व्यक्त गर्नुभयो।

कार्यक्रममा विशिष्ट अतिथि शिक्षाविद् डा. विद्यानाथ कोइराला, प्रा.डा. हरि सिलवाल, डा. इन्दुल केसी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। त्यस्तै, नियमित कविता गोष्ठीअन्तर्गत झन्डै एक दर्जन कविहरूले आफ्ना रचना वाचन गरेका थिए। रचना वाचन गर्नेमा दिल पौडेल, रचना मोक्तान, युवराज नास्तिक, गोविन्द मैनाली, मच्छेश्वर सापकोटा, कालिका त्रिपाठी, सङ्गिता खरेल, यदुनाथ देउपुरे, शशी श्री आचार्यलगायत रहेका थिए।

कवि रायमाझीले आफ्नै संग्रह ‘गाउँ बिरानो भयो’ बाट एउटा कविता वाचन गर्नुभयो भने अन्य तीन कविता उहाँका छोरा निर्भिकजंग रायमाझी, छोरी सरिता रायमाझी र नातिनी गरिमा अधिकारीले वाचन गर्न्नु भएको थियो ।

सम्मान तथा सम्मानपत्र प्रदान
कार्यक्रममा प्रलेस काभ्रेले कवि नवराज उत्साही, कवि मुरहरि रायमाझी, दिल पौडेल, केशव घिमिरे, डा. जिवेन्द्रदेव गिरि र हरि मञ्जुश्रीलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो। विशिष्ट अतिथि डा. विद्यानाथ कोइरालालाई मायाको चिनो प्रदान गरिएको थियो।

स्वागत मन्तव्य प्रलेस काभ्रे जिल्ला सदस्य श्रीकृष्ण पाण्डेले दिनुभएको थियो भने सम्मानपत्रमा उल्लेख गरिएका विवरणहरू वाचन गरेर सुनाइएको थियो। कार्यक्रममा प्रलेस जिल्ला कार्यसमितिका सम्पूर्ण सदस्यहरूको उपस्थिति रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *