समाचार
नेकपा एकीकृत समाजवादी संस्थापनाको औचित्य पुष्टि भइसक्यो :- पाेलिटब्युराे सदस्य वाइबा

(नेकपा एकीकृत समाजवादी संस्थापनाको औचित्य पुष्टि भइसक्यो :- पाेलिटब्युराे सदस्य वाइबा) कुराकानीमा आधारित
नेपाल एक संघीय लोकतान्त्रिक राज्य हो। नेपालको संविधानले त्यस्तै परिकल्पना गरेको छ। तर नेपालमा हुने राजनीतिक अस्थिरताले कता-कता अन्यौलता सिर्जना गरिरहेको भन्ने आधारहरु धेरै छन्। त्यसकै परिणाम स्वरुप अहिलेको राजनीतिक अवस्था परिकल्पनाभन्दा बाहिर गएको छ । केही समय अगाडिको राजनीतिक कोर्ष परिवर्तन नभएको भए मुलुक गम्भीर संकटमा फस्ने सम्भावना थियो। त्यसका प्रमुख नाइके नेकपा एमालेका अध्यक्ष केपी ओली हुन् ।
२०७४ सालको निर्वाचनपछि वाम गठबन्धनबाट बनेको सरकारका प्रमुख उनै केपी ओली थिए। उनी विभिन्न बहानामा देशलाई अनिर्णयको बन्दी बनाउन चाहन्थे। उनले देशलाई संविधानमार्फत् निकास दिन खोजेका थिएनन् । त्यतिबेलाको परिस्थितिमा उनले मध्यावधि निर्वाचन गर्न चाहेको होइन । बरु आफू सत्तामा बसेर सत्तालाई नियन्त्रणमा राख्ने सोच मात्र थियो । देशमा चुनाव हुने सम्भावना थिएन । संविधान जोगाउन प्रतिकात्मक हिसाबले सडक आन्दोलनमा जानु हाम्रो बाध्यता थियो। त्यसमा हामी सफल भयौं।
राजनीतिले विभिन्न चरणहरु पार गर्दै सर्वोच्च अदालतको ढोका ढक्ढक्याउने परिस्थिति सिर्जना भयो, त्यतिबेलाको अवस्था के थियो भन्ने बारे सबै सामु जग जाहेर छ । त्यसका बाबजुद पनि शक्ति पृथकीकरणको सिद्धान्त अनुसार सर्वोच्च अदालतले संविधान वा आन्दोलनकारीको पक्षमा निर्णय गरिदियो। तत् पश्चात् नेकपा एमालेका अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी ओली सत्ताच्युत हुनुपरेको थियो । नेकपा एमालेबाट विद्रोह गरी जन्मिएको नेकपा एकीकृत समाजवादी पार्टीको कारण नयाँ गठबन्धनले आकार पाएको थियो । त्यसबाट नेकपा एकीकृत समाजवादीले गरेको विद्रोह पुष्टि भएको मान्न सकिन्छ।
नेकपा एकीकृत समाजवादी पार्टी स्थापनाको मूल मर्म तत्कालिन नेकपा एमालेको मूल नेतृत्वको अहम्ता नै थियो। किनभने नेकपा गठनपछि सिर्जित विवादहरु निष्कर्षमा पुग्न नसक्दा पार्टीभित्रकै वरिष्ठ र सम्मानित नेताहरुलाई चोट पुऱ्याउने काम भयो। त्यस्ता सुनियोजित प्रवृत्तिहरुलाई सहेर बस्न सक्ने स्थिति थिएन। पार्टीभित्र उठाएका मागहरुप्रति असहमति जनाउँदै शक्तिको दुरुपयोग गर्दै ओली गुटले माधव नेपाल, झलनाथ खनाल लगायत अन्य नेताहरुलाई दुर्व्यवहार गर्ने, पार्टीबाट निष्कासन गर्ने र साधारण सदस्य पनि नरहने गरी कारवाही गरिएको घटनाले पार्टी एक हुनसक्ने स्थिति नरहेको प्रष्ट छ। हामीले जे-जस्ता मुद्धाहरु उठाएका थियौ, त्यो राष्ट्रियस्तरमै मूल्यांकनयोग्य थियो । खासमा पार्टीका नेताहरुलाई कारवाही गरी रिक्त पदहरुमा माओवादीका जुनियर नेताहरुलाई ल्याई पदस्थापन गरिएको घटनाले अपमान बोध गराएको हो।
स्थापित गर्न मुलुकमा पछाडि परेको वर्ग, समुदाय, दलित, कम्युनिष्ट पार्टीमा वर्गीय चरित्र र आन्दोलनलाई मधेसी, महिला, सीमान्तकृत आदिको सम्बोधन हुनु पर्थ्यो । ओली शासनमा त्यस्तो कुनै पनि नीति कार्यक्रम र सुधारका कार्य हुन सकेनन् । त्यसले कम्युनिष्ट आन्दोलनलाई नै विघटन नै गर्न पुगे। नेकपा हुँदा नेकपा माओवादीसँग भएका ध्रुवीकृत गरायो । त्यसपछि ओलीले संविधान विपरित संसद सहमतिहरु कार्यान्वयन नगर्नु, पार्टीको बैठक नबोलाउनु र आफू अल्पमतमा पर्ने भएपछि पार्टीकोबैठकबाट भाग्नु केपी ओलीको गम्भीर कमजोरीहरु थिए । दलबाट निर्वाचित जनप्रतिनिधिहरु पार्टीद्वारा निर्देशित प्रशासनिक क्षेत्रमा सक्रिय रहनु स्वभाविक हो। जसले दलको रणनीतिक योजनालाई मूर्त रुप दिन सघाउँथ्यो । तर विचलनको परिस्थिति आउनुमा नेतृत्वको अनावश्यक दबाबले सरकार र दलका नेतृत्वहरुको रणनीतिक योजना असफल भएको मान्न सकिन्छ।
नेकपा एकीकृत समाजवादी विद्रोहपछि स्थापना हुँदा म नेकपा एमालेको काभ्रे जिल्ला अध्यक्ष थिएँ। सायद देशभरि नै एक मात्र त्यस्तो अध्यक्ष म हुन सक्छु, जो एमालेको जिल्ला अध्यक्ष हुँदाहुँदै नेकपा एकीकृत समाजवादी पार्टी बनाउन भूमिका खेलेको थिएँ। अहिले म नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो सदस्य र दोस्रो कार्यकाल जनप्रतिनिधि भएर जनताको सेवामा तत्पर छु । देशभरिबाट नेकपा एकीकृत समाजवादीमा धेरै साथीहरु हुनुहुन्छ। जसले ओलीको निरंकुश शासनको विरोध गर्नुभयो । १० औं राष्ट्रिय महाधिवेशनबाट चयन भएको नेतृत्वले हाल नेकपा एकीकृत समाजवादीलाई समाजवादको यात्रामा दोहोऱ्याउन भूमिका खेलिरहेको छ।
जब नेकपा विघटन भएको थियो, हामी निरन्तर आन्दोलनमा थियौं । विद्रोहपछिको छोटो अवधिमा नै स्थानीय तह, संघ र प्रदेशको निर्वाचनको सामना गर्नुपर्यो । स्थानीय तहको निर्वाचन हुँदा ७ महिना र संघ र प्रदेशको निर्वाचन हुँदा १३ महिनामा नै हामीले निर्वाचनमा सामेल हुनपर्यो । त्यतिबेला वाम लोकतान्त्रिक गठबन्धनमा तालमेलसहित चुनावी प्रतिस्पर्धामा थियौं। त्यसका बाबजुद पनि हाम्रो पार्टीले राम्मै उपलब्धी हासिल गरेको थियो। जुन उद्देश्य र दृष्टिकोण राखेर हाम्रो पार्टी स्थापना भएको थियो, त्यो हिसाबले हामीलाई पूर्ण रुपमा स्थापित हुन समय अभावलाई हामीले व्यहोर्यौँ।
वर्तमान अवस्थामा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारले कहाँ, के गरेको छ भन्ने कुरा जनतामा प्रष्ट छ । किनभने ०८१ मंसिरमा भएको उपनिर्वाचनको परिणामले देखाउँछ। वर्तमान सत्ता गठबन्धनको अलोकप्रियता बढ्दै गएको कुरा हालको राज्य सत्ताको डेलिभरीले बताइरहेको छ। विभिन्न घटना-परिघटना तथा त्यसका परिणामको नकारात्मक नतिजाले आम मानिसमा उनीहरुप्रति वितृष्णा बढाएको छ । यस परिणामबाट वर्तमान राजनीतिक व्यवस्था र यसका संस्थापक दलहरुमा समेत प्रभावको श्रृंखला बढ्दै गइरहेको छ। यसका प्रियतावादी नाराका साथ राजनीतिक मैदानमा उदाएका दलहरु समेत समयान्तरले फिक्का पर्दै गइरहेको देखिन्छ।
यसर्थ, हाम्रा समग्र समस्या, सम्भावना र उपलब्ध साधन स्रोतहरुको परिचालनलाई प्रभावकारी बनाउँदै भावी राजनीतिक, सामाजिक तथा भौतिक विकास र मानवीय सचेतनाको दरलाई वृद्धि गर्न आवश्यक देखिन्छ । यसले आजको समाजको यथार्थ चित्रण गरी भोलिको समुन्नत सन्दर्भनिर्माण गर्दै समाजवादी दिशामा अघि बढ्ने मार्गप्रशस्त गर्न सक्दछ । राज्यको संरचना अनुसारको कार्यक्रमिक प्रणाली र त्यसको परिणामलाई जनमुखी बनाउँदै रुपान्तरणकारी दिशामा अगाडि बढ्न आवश्यक देखिएको छ । हालको हाम्रो राज्य पुनर्सरचना अनुसारका तहगत प्रणालीलाई मजबुद बनाउनका निमित्त यसका सम्भावना, लक्ष्य र उद्देश्य अनुरुप कार्य गर्न आवश्यक छ। जसअनुसार स्थानीय तहलाई अल्पकालिन तथा तत्काल प्रभाव गर्ने सेवा, सुविधासँग जोड्ने, प्रदेश संरचनालाई मध्यकालिन सेवा प्रवाह र संघीय संरचनालाई दीर्घकालिन सेवा प्रवाहसँग जोडेर सो अनुरुप कार्यक्रम, योजना तथा स्रोत सुनिश्चितताका साथ अगाडि बढाउन आवश्यक देखिन्छ । यसले राज्यको सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै तहगत रुपमा पृथक तर एकताको सन्देश प्रवाह गर्दछ।
तसर्थ, हालको हाम्रो राजनीतिक व्यवस्था, राजनीतिक दल र सामाजिक चेतनास्तरका हिसाबले हाम्रो भावी कार्ययोजनाहरु थप विशिष्ट, प्रविधिमैत्री, विश्वव्यापीकरणले पार्ने प्रभाव तथा चुनौतीसँग सामना गर्न सक्ने कार्ययोजना हाम्रा लागि आवश्यक छ । २१ औं शताब्दीको बदलिँदो विश्व परिवेश, बदलिँदो चेतनास्तर र विकसित आर्थिक तथा भौतिक परिवेशलाई हाम्रो सम्भावना र आवश्यकताबीच सम्बोधन गर्ने गरी नविनतम् विचार निर्माण आवश्यक छ। जसले आजका समस्या समाधान गर्दै भावी परिवर्तनको दिशाबोधमा सहयोग पुऱ्याउँछ भन्ने आशा र विश्वास गर्न सकिन्छ।
(टोकबहादुर वाईबा पोलिटब्युरो सदस्य, नेकपा एकीकृत समाजवादी)


