समाचार

प्रधानमन्त्रीद्वारा आलोचना भएपछि के भने मुख्यमन्त्री राउतले ?

काठमाडौं, ३१ वैशाख । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्रीले संसदमा आफ्नो आलोचना गरेर मर्यादा भुलेको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री राउतले संविधान संशोधनको एजेण्डा जीवित रहेको बताए । ‘संविधान संशोधनको एजेण्डा हामीले उठाउँदै आएको कुरा सबैलाई थाहा छ’, उनले भने, ‘सबै कुरा जान्दा जान्दै संसदमा आलोचना गर्नु उहाँको कुरा होला !’

उनले संविधान संशोधनमा आफूले बोल्दै आएको कुरालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनका बेला भनेको बताए ।

‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष प्रदेश २ का जनताको भावना राखेको हुँ’, मुख्यमन्त्री राउतले भने, ‘ओलीजीले असन्तुष्टि जनाउनुको कुनै अर्थ छैन । संविधान संशोधन साँचो कुरा हो । झुठलाई साँचो बनाउन सकिँदैन ।’

मोदीको नागरिक अभिनन्दनका बेला प्रदेश २ का मुख्यमन्त्री राउतले संविधान संशोधनको कुरा उठाएपछि सबैले आलोचना गरेका थिए । त्यति मात्रै होइन आइतबारको संसद बैठकमा प्रधानमन्त्री ओलीले पनि असन्तुष्टि जनाएका थिए ।

प्रधानमन्त्रीले समेत आलोचना गरिसकेको अवस्थामा तपाईले पदबाट राजीनामा दिनु हुन्छ ? भन्ने प्रश्नको जवाफमा राउतले भने, ‘मैले राजीनामा दिँदै । कसैले दिएको मुख्यमन्त्रीको पद हो र ? मेरो कारण लाखौँ जनता अभिनन्दनमा आएका थिए । मैले राजीनामा दिने सवाल छैन ।’

पदीय मर्यादा विपरित नागरिक अभिनन्दन कार्यक्रम मन्त्रीले उद्घोषण गरेको तथा कार्यक्रमको अध्यक्षता मुख्यमन्त्रीले गरेको बारेमा सोधिएको प्रश्नको जवाफमा राउतले भने, ‘त्यो हाम्रो कुरा हो । कसैले सिकाउनु पर्दैन । जे निर्णय गरे पनि हामीले गर्ने हो ।’

मोदीको नागरिक अभिनन्दन जनकपुर नगरपालिकाले गरेको थियो । तर, कार्यक्रमको अध्यक्षता मेयरले गर्नुपर्नेमा मुख्यमन्त्री राउत आफैले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *