समाचार
धुलिखेलमा स्वास्थ्य बीमा सेवा अवरुद्ध, नेकपा (एस) को गम्भीर ध्यानाकर्षण

श्रावण ९ शुक्रबार ,२०८२
काभ्रेपलान्चोक । नेपाल सरकारको स्वास्थ्य बीमा बापत प्रदान गरिने निःशुल्क स्वास्थ्य सेवाको पहुँचबाट धुलिखेल नगरपालिका क्षेत्रका सर्वसाधारण नागरिकहरू वञ्चित हुन थालेका छन्। प्राथमिक स्वास्थ्य केन्द्रमार्फत प्रदान हुँदै आएको बीमा सेवाबाट नागरिकहरूलाई उपचार पाउन नसक्ने अवस्था सिर्जना भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) धुलिखेल नगर समितिले गम्भीर ध्यानाकर्षण गराएको छ।
पार्टी अध्यक्ष दयासागर श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएअनुसार २०७८/१२/११ मा गरिएको निर्णयपछि धुलिखेलको स्वास्थ्य बीमामा सूचीकृत सेवा केन्द्रबाट सेवा बन्द भएको बताइएको छ। नौ दिन बितिसक्दा पनि बीमाको सेवा पुनः सुचारु गरिने कुनै चासो देखिएको छैन।
नगरवासीहरू धुलिखेल अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रबाट निःशुल्क सेवा लिन नसक्दा निजी अस्पताल धाउन बाध्य छन्, जसले गर्दा थप आर्थिक भार परेको छ। यस्तो संवेदनशील अवस्थामा सरकार र सम्बन्धित निकायहरू मौन बस्नु निन्दनीय भएको विज्ञप्तिमा उल्लेख छ।
धुलिखेल नगरपालिका विश्व स्वास्थ्य संगठनबाट नेपालकै पहिलो ‘स्वस्थ शहर’ को उपाधि प्राप्त नगर भए पनि नागरिकका आधारभूत स्वास्थ्य अधिकारको ग्यारेन्टी हुन नसक्नु विडम्बनापूर्ण भएको समेत विज्ञप्तिमा जनाइएको छ।
पार्टीले नेपाल सरकार, स्वास्थ्य बीमा बोर्ड, धुलिखेल नगरपालिका, र प्राथमिक स्वास्थ्य केन्द्रलाई तत्काल समस्या समाधानका लागि जिम्मेवार बन्न आह्वान गरेको छ।