कृषिबाट मनग्य आम्दानी गर्दै भूम्लुका युवा केदार क्षेत्री

+
-

काभ्रेपलान्चोक । भुम्लु गाँउपालिकाका केदार बहादुर घर्ती क्षेत्री घर वरिपरि काम गरिरहेको अबस्थामा भेटिन्छन् । उनी बाख्रा गाेठमा पाठापाठी स्याहारसुसार गरिरहेका थिए। उता खाेरमा भाले बास्याे । भैसीले पाडाे खाेज्याे । साँझ पर्न लागेछ, कुखुराका चल्लाले गुँड खाेजे । यी सबै काम क्षेत्री आफै भ्याउँछन ।

भुम्लुकाे ३ नम्वर वडा बेखसिम्लेका उनकाे दिन चर्या यस्तै छ। क्षेत्री सशस्त्र प्रहरीका जागिरे थिए । उनले १७ वर्ष फौजीमा रहेर देशकाे सेवा गरे । देशका विभिन्न भूगाेल घुम्ने अबसर पाए। जागीरे जीवनकाे देशाटनले उनलाई रिटायर पछि घरमै बसेर केही गर्छु भन्ने साेच थियो । क्षेत्रकाे उमेर धेरै भएको छैन । उनी विदेश भासिन सक्थे तर उनले त्यता नसाेचि गाउँमा कृषि व्यवसायलाई अधि बढाए।

देशमा सम्भावना छैन। केही गर्न सकिदैन । विदेशकाे विकल्प छैन ,भन्नेहरुका लागि उनी उदाहरणीय ब्यक्ति भएका छन् । उनले विगत दुई वर्षदेखि `हिलेदेवी कृषि तथा पशुपन्छि फार्म´ संचालन गरेका छन् । उनको यो साेच आफै विकास भएको हो । सशस्त्र प्रहरीको जागिर छाेडेपछि उनले नुवाकोटमा गएर ब्यवसायिक बाख्रा पालन सम्बन्धि तालिम लिए। बाख्रा पालन सम्बन्धि तालिम लिन पाइन्छ भन्ने उनलाई युटुवमा हेरेर थाहा पाएका हुन् ।
उनले ब्यवसायीक बाख्रा पालनकाे १५ दिने तालिम लिएर आफ्नै गाउँ बेखसिम्लेमा आधुनिक खाेर बनाए । नविल बैक भुम्लु शाखाले क्षेत्रीलाई १२ लाख ऋण उपलब्ध गराएको छ। उनी भन्छन् ,` ब्यवसाय गर्ने भएपछि नविल बैकबाट ऋण निकालेर संरचना तयार गरे, बाख्राका माउ र बाेका किने। पहिला ४/६ महिनाका पाठापाठी ल्याएर गाेठ भरेकाे थिएँ। १५/ २० वटाबाट सुरु गरेकाे ब्यवसायमा हाल ५० भन्दा माथि साना ठुला बाख्रा,बाेकाहरु छन् । म नविल बैक भुम्लु शाखाकाे ऋणि हुँ ।´

क्षेत्रीका अनुसार मेहनत गर्न सके यो ब्यवसायबाट राम्रो आम्दानी लिन सकिन्छ । पशु चौपायाकाे गाेठ नियमित सरसफाइ गर्नु पर्छ । गाेठ सफा नहुँदा राेग लाग्ने, उपियाँ,झिंगा, डाँढ आदिले दु: ख दिन्छ। पशुलाई अन्य राेग पनि लागिरहेको हुन्छ। नाम्ले राेग, घाँस नखाने, पाठहरु माेटाउन नसक्ने, नाकबाट सिंगान बग्ने समस्या देखा पर्छन् ।

उनकाे आधुनिक खाेर निर्माण गज्जबकाे छ। उनले खाेर निर्माण गर्दा जमिनबाट ५/६ फिटकाे उचाइमा पिलर उठाएका छन् । पिलरहरु १२ वटा रहेका छन् । त्यसमाथि काठका फल्याक ठाेकेर बाख्राका मलमुत्र जमिनमा झर्ने ब्यवस्था गरिएको छ। जसले गर्दा हरेक दिन गाेठ सफा गर्न सजिलो भएको छ। गाेठकाे सरसफाइमा उनले विशेष ध्यान दिने गरेकाे बताएका छन् । बाख्राहरुलाई फरकफरक क्याविनमा राखेर बस्दा,उभिँदा ,घुम्दा ,घाँस-दाना खाँदा पनि अफ्ट्यारो नहुने गरि पिलर उठाइएकाे छ।

दुई वर्षमा ४ लाख आम्दानी गरिसकेका छन् भने गाँउपालिकाले दिने कृषि अनुदान वडा मार्फत १ लाख ५० हजार पाइसकेका छन् । गाँउपालिकाले सामुहिक बाख्रा पालन ब्यवसायलाई प्राथमिकता दिए हुन्थ्थाे भन्ने उनकाे अपेक्षा छ। सामुहिक ब्यवसायमा उत्पादन धेरै हुने र बजार व्यबस्थापनमा सहयोग पुग्ने अनुभव छ । किसानहरूलाई राज्यले सहयोग गरे विदेश पलायन राेकिने पनि क्षेत्रीकाे आश रहेको छ। छ।

क्षेत्रीकाे फार्ममा कुखुरा, कालिज पनि पाउन सकिन्छ । उनले घरमा हाेमेष्टे पनि संचालन गरेका छन् । उनी काेही पाहुना आए भने न्यानो आतिथ्यताले स्वागत गर्छन् । उनको हाेमेष्टेमा लाेकल कुखुराकाे मासुकाे स्वाद लिन पाइन्छ ।अर्गानिक सब्जी र खाना, खानामा ताजा भौसीकाे ध्युले अतिथिकाे मान- सम्मान पर्याप्त हुने गरेकाे उनकाे हाेमष्टेमा भिजिट गरेकाहरुले बताउने गरेका छन् ।

गाउँमा ५ /५ वटा जति सामुहिक बाख्रा गाेठ,भौंसी पालन, गाई फार्म, र तरकारी खेति हुने हो भने घर छाेडेकाहरु गाउँ फर्कने सम्भावना छ। गाउँका बाँझो खेत- बारीमा उत्पादन बढने र गाउँ पून हराभरा हुने उनको विश्वास छ ।