दमौली । तनहुँ जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्दै गएको छ । विगत केही वर्षदेखि जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर छ भने माछामा भने आत्मनिर्भर नरहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ ।
केन्द्रका पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीले प्रति व्यक्ति प्रति वर्ष न्यूनतम ९१ लिटर दूध आवश्यक पर्नेमा तनहुँमा ११५.५ लिटर उपलब्धता रहेको जानकारी दिनुभयो । त्यस्तै १४ केजी मासु आवश्यक पर्नेमा १४.२ केजी केजी मासु उपलब्धता छ । ४८ गोटा अण्डा आवश्यक पर्नेमा ८१ गोटा अण्डा उपलब्धता रहेको ठकुरीले बताउनुभयो । यो हिसाबले प्रति व्यक्तिका लागि दूधमा २४.५४ लिटर, मासुमा ०.२ केजी र अण्डामा ३३ गोटा बढी उत्पादन भइरहेको उहाँले बताउनुभयो ।
माछामा भने ७ केजी आवश्यक पर्नेमा ०.२७ केजीमात्रै उपलब्धता छ । माछामा अझै ६.७ केजी अपुग रहेको ठकुरीले बताउनुभयो । उहाँका अनुसार जिल्लामा ७८ हजार तीन सय नौ परिवार सङ्ख्या रहेकामा ४९ हजार छ सय ४० परिवार पशुपालनमा निर्भर रहेको छ ।
आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा ७६ हजार एक सय २१ मेट्रिक टन दूध उत्पादन भएको छ । आर्थिक वर्ष २०८१/८२ मा ७४ हजार सात सय ५१ मेट्रिक टन दूध उत्पादन भएको थियो । यो वर्ष एक हजार तीन सय ६९ मेट्रिक टन बढी दूध उत्पादन भएको छ । दूध उत्पादक कृषकलाई उत्पादनमा प्रोत्साहन दिने नीतिले कृषक पशुपालनतर्फ आकर्षित भएको ठकुरीको भनाइ छ ।
आर्थिक वर्ष २०८२/८३ मा चार हजार सात सय ८१ दशमलब ३ मेट्रिक टन मासु उत्पान भएको छ । आर्थिक वर्ष २०८१/८२ मा चार हजार नौ सय ९८ दशमलब १९ मेट्रिक टन मासु उत्पादन भएको थियो । मासुमा राँगा, भैसी, खसीबोका र सुङ्गुर बङ्गुरको उतदन घटेको छ भने कुखुराको उत्पादन बढेको ठकुरीले बताउनुभयो ।
आर्थिक वर्ष २०८२/८३ मा एक सय ६४ मेट्रिक टन माछा उत्पादन भएको छ । आर्थिक वर्ष २०८१÷८२ मा एक सय १३ मेट्रिक टन माछाु उत्पादन भएको थियो । जिल्लामा गाई, हाँस, खरायो पालनको सङ्ख्या बढेको छ । आर्थिक वर्ष २०८१/८२ मा ४९ हजार सात सय ४२ गाईपालन गरिएकामा आर्थिक वर्ष २०८२/८३ मा गाईको सङ्ख्या ४९ हजार नौ सय १२ पुगेको छ । आर्थिक वर्ष २०८१/८२ मा भैसी ५३ हजार तीन सय ८३ रहेकामा आर्थिक वर्ष २०८२/८३ मा ५१ हजार दुई सय ३५, आर्थिक वर्ष २०८१/८२ मा बाख्रा तीन लाख ८८ हजार एक सय ७६ रहेकामा आर्थिक वर्ष २०८२/८३ मा तीन लाख ७४ हजार सात सय ६५ रहेको छ ।
आर्थिक वर्ष २०८१/८२ मा कुखुरा नौ लाख ९८ हजार नौ सय ३६ रहेकामा आर्थिक वर्ष २०८२/८३ मा नौ लाख ९७ हजार सात सय ६५ पुगेको कार्यालयले जनाएको छ ।


