गाजर, भन्टा र तारेको कुखुराको मासुजस्ता देखिने वस्तुहरू पहिलो नजरमा ताजा खानेकुरा जस्तै लाग्छन् । तर नजिकबाट हेर्दा ती वास्तवमा आइसक्रिमका सिर्जनात्मक नमुना हुन् ।
उत्तर चीनको तियान्जिन नगरपालिकामा बुधबारदेखि शुक्रबारसम्म आयोजित २८ औँ चीन आइसक्रिम तथा फ्रोजन फुड इन्डस्ट्री एक्स्पोमा यस्ता नवीन उत्पादनले भारतका डेजर्ट निर्माता यशको ध्यान ताने । “यहाँ धेरै नयाँ र रोचक आइसक्रिम उत्पादन छन्, जसमा विभिन्न स्वाद र प्रकार उपलब्ध छन्”, उहाँले भन्नुभयो ।
‘आइआइ मिडिया रिसर्च’का अनुसार चीनको आइसक्रिम बजार सन् २०२५ मा १९१ दशमलव दुई अर्ब युआन (करिब २८ दशमलव ३२ अर्ब अमेरिकी डलर) पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा चार दशमलव १९ प्रतिशत बढी हो ।
तियान्जिन प्रदर्शनीमा चिनियाँ कम्पनीहरूले आइसक्रिम उत्पादनमा सिर्जनात्मकतालाई प्राथमिकता दिएको देखिएको छ । ‘साङ्घाई नाइसेम ब्रान्ड म्यानेजमेन्ट कम्पनी लिमिटेड’का महाप्रबन्धक याङ यिउका अनुसार गाजरको आकारमा बनाइएको आइसक्रिम कम्पनीको प्रमुख नवीन उत्पादनमध्ये एक हो ।
याङका अनुसार चिनियाँ आइसक्रिम उत्पादनका लागि विदेशी बजारमा पनि पर्याप्त अवसर छन् । विशेषगरी परम्परागत आइसक्रिमको बजार विकसित भइसकेका देशमा नयाँ स्वाद र फरक स्वरूपका उत्पादनको माग बढिरहेको उहाँले बताउनुभयो । कम्पनीका उत्पादन २० भन्दा बढी देश तथा क्षेत्रमा निर्यात भइसकेका छन् ।
यस वर्षको प्रदर्शनीमा १२० भन्दा बढी देश तथा क्षेत्रबाट एक हजार ८०० भन्दा बढी खरिदकर्ता सहभागी भएका थिए । करिब ३० अन्तरराष्ट्रिय प्रदर्शकसहित ५६० कम्पनीको सहभागिता रहेको थियो, जुन प्रदर्शनीको नयाँ कीर्तिमान हो ।
विदेशी खरिदकर्ताले उत्पादनको स्वाद लिनुका साथै आइसक्रिम उत्पादन तथा प्याकेजिङ उपकरणको अवलोकन र सम्भावित व्यापारिक साझेदारीबारे छलफल गरेका थिए ।
बेलायतस्थित फिनचर लिमिटेडका प्रबन्ध निर्देशक मार्क गजनले चीनमा निर्मित उपकरणप्रति आफ्नो कम्पनीको चासो बढेको बताउनुभयो । युरोपमा उपकरणको मूल्य उच्च रहेकाले आफूहरूले वैकल्पिक आपूर्तिकर्ता खोजिरहेको उहाँले बताउनुभयो ।


