दिक्तेलमा विविध कार्यक्रम गरी संविधान दिवस मनाइयो

+
-

खोटाङ । खोटाङको दिक्तेल बजारमा विविध कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइएको छ । विसं २०७२ असोज ३ गते संविधानसभाबाट राष्ट्रपतिले ‘नेपालको संविधान, २०७२’ जारी गर्नुभएको दिनको सम्झनामा हरेक आजकै दिन संविधान तथा राष्ट्रिय दिवस मनाउने गरिएको छ ।

संविधान दिवस जिल्ला समारोह समिति खोटाङको आयोजनामा ब्याडमिन्टन, वक्ततृत्वकला प्रतियोगिता, दिक्तेल बजारमा प्रभातफेरीलगायत कार्यक्रम गरिएको थियो । जिल्ला प्रशासन कार्यालयको संयोजनमा जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयको सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो ।

शुक्रबार जिल्ला खेलकुद विकास समिति र जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा भएको ब्याडमिन्टन प्रतियोगितामा दिनेश तामाङ र रेनुका राई प्रथम भएका छन् । प्रथम हुने उनीहरूले नगद रु १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

डिएम चाम्लिङ राई र धनञ्जय राईको समूह द्वितीय भएको छ । द्वितीय हुने समूहले नगद रु नौ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । ज्ञानेन्द्र जोशी र विनोद गजमेर तथा पूजन आचार्य र कल्पना राईको समूह सेमिफाइनलिस्ट भएका छन् । दुवै समूहले जनही नगद रु चार हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यसैगरी, शुक्रबार ‘नेपालको संविधान, दायित्व’ शीर्षकमा आयोजित वक्ततृत्वकला प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय, दिक्तेलकी छात्रा नम्रता दाहाल प्रथम भएकी छन् । दाहालले नगद रु पाँच हजारको साथमा प्रमाणपत्र प्राप्त गरेकी छिन् ।

देउराली माध्यमिक विद्यालय, डुम्रेकी एलीना पोखरेल द्वितीय, राम्चेनिकेतन माध्यमिक विद्यालयका इसानदीप लम्साल तृतीय र श्री माध्यमिक विद्यालय मझुवा बाँस्बोटे, लफ्याङकी कविता श्रेष्ठ सान्त्वना भएकी छिन् । प्रतियोगितामा द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीले क्रमशः तीन हजार, दुई हजार र एक हजार पुरस्कार प्राप्त गरेका छन् ।

ब्याडमिन्टन प्रतियोगिता केपिलासगढी गाउँपालिका र उद्योग वाणिज्य सङ्घ खोटाङको आर्थिक सहयोगमा तथा वक्ततृत्वकला प्रतियोगिता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा आयोजना गरिएको हो । आज दिक्तेल बजारमा प्रभातफेरि निकालिएको छ । प्रभातफेरीपछि जिल्ला समन्वय समिति खोटाङको प्राङ्गणमा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका उपप्रमुख सुरेशकुमार तामाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङ, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, तीनै तहका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलगायतको उपस्थिति थियो । जिल्लाका स्थानीय तहहरुले समेत आआफ्नो ठाउँमा विविध कार्यक्रम गर्दै संविधान दिवस मनाइरहेका छन् ।