समाचार
नेकपा( एकीकृत समाजवादी) काभ्रेले बुझायो प्रजिअ मार्फत सरकारलाई ज्ञापनपत्र

चैत २८ बिहीबार ,२०८१
रामेश्वर आचार्य
काभ्रेपलान्चोक । नेकपा (एकीकृत समाजवादी)काभ्रेले जिल्ला प्रशासन कार्यालय काभ्रेमा ज्ञापनपत्र बुझाएको छ। पार्टीको केन्द्रीय निर्देशन अनुसार आज (बिहीबार) प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल मार्फत सरकारकाे ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाइएको हो ।
`देशमा बढदै गएकाे बेथिति र गणतन्त्र विराेधी गतिविधि विरुद्ध गत चैत १५ गते नेकपा एकीकृत समाजवादी सहितले शान्तिपूर्ण आन्दोलन गरेको सबैलाई विधितै छ। तर त्यसै दिन राजतन्त्रबादीहरुले विभिन्न ठाउमा ताेडफाेड गर्नुका साथै आगजनी पनि गरेका थिए । साथै नेकपा एकीकृत समाजवादीकाे केन्द्रीय कार्यालय तिनकुनेमा ताेडफाेड गरि भौतिक क्षति पुर्याएकाे घटना जगजाहेर छ´, पार्टी जिल्ला कमिटी अध्यक्ष बसुन्धरा हुमागाँईले जारी गर्नु भएको पत्रमा उल्लेख गरिएको छ।
प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई भनिएको छ,` हाम्रो आन्दोलनलाई बदनाम गराउने कुत्सित मानसिकताले प्रतिगामीहरुले गणतन्त्रको पक्षमा याेगदान गर्दै आएको पार्टी कार्यालयमा क्षति पुर्याएका छन् । ती र त्यस्ता घटनामा संलग्नलाई पक्राउ गरि छिटोभन्दा छिटो कार्वाहीकाे दायरामा ल्याउन माग गर्दछौं । ´
साे घटनाको दाेषीलाई कार्वाहीकाे गर्नु पर्ने भन्दै घाइतेको निशुल्क उपचार , पीडितलाई क्षतिपूर्ति दिनु पर्ने , पत्रकार सुरेश रजतलाई सहिद घाेषणा गर्न र अराजक गतिविधि नियन्त्रण गरि नागरिकको जनधनको सुरक्षा गर्न जाेडदार माग गरिएको छ।
उक्त ज्ञापनपत्र नेकपा एकीकृत समाजवादी काभ्रेका अध्यक्ष सहित विभिन्न पद र जिम्मेवारीमा रहेर भूमिका निर्बाह गर्नुहुनेहरुले संयुक्तरूपमा बुझाउनु भएको हो । पत्रकाे व्यहाेरा पार्टी जिल्ला कमिटी अध्यक्ष बसुन्धरा हुमागाँईले वाचन गरि प्रजिअ ढकाललाई सुनाउनु भएको थियो ।

