समाचार
कथाकार रमेश खनालको कृति “युद्धमा बिलाएको सपना” लोकार्पित

कात्तिक २६ साेमवार ,२०८१
काठमाडौ । साहित्यिक पत्रकार संघकाे आयाेजनामा कथाकार रमेश खनालको लघुकथा कृति “युद्धमा बिलाएको सपना” लोकार्पण भएको छ। गत शनिबार अर्पण आर्ट ग्यालरीको सभाहलमा स्रष्टा खनालद्वारा लिखित लघुकथा लाेकार्पण गरिएको हो।
कार्यक्रमका विभिन्न क्षेत्रमा याेगदान पुर्याउनु भएका ब्यक्तिहरुकाे उपस्थिति रहेको थियो । साे कार्यक्रमकाे प्रमुख आतिथ्यता नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ कलाकार के के कर्माचार्यले गर्नु भएको थियो भने साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, समालोचक प्रा. डा. गोविन्दमान सिंह कार्की, कथाकार किशोर पहाडीले पनि संयुक्त रुपमा प्रमुख अतिथिको आतिथ्यता ग्रहण गर्नु भएको थियो ।
लोकार्पित लघुकथा कृति “”युद्धमा बिलाएको सपना”बारे समालोचक प्रा. डा. गोविन्दमान सिंह कार्कीले समीक्षा गर्नु भएको थियो । साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष सर्जक नरेन्द्रबहादुर श्रेष्ठ र कथाकार किशोर पहाडीले शुभकामना मन्तव्य राख्नु भयो।
सो कार्यक्रममा लोकार्पित कृतिका सर्जक खनाललाई सम्मान पनि गरिएको थियो । कथाकार इन्दिरा ढकालले लोकार्पित कृतिबाट एक लघुकथा वाचन गर्नु भयो भने कार्यक्रमको सहजीकरण कवि मुरारी सिग्देलले गर्नु भयो ।
