समाचार
मोरङमा २६ सयले दिए मापसे परीक्षा
विराटनगर / मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाएका चालक मध्ये दुई हजार छ सय एक जनाले जिल्ला प्रहरी कार्यालय मोरङमा सचेतना परीक्षा दिएका छन् । प्रहरीले मापसे गरेर सवारी साधन चलाए अनिवार्य लिखित परीक्षा दिनु पर्ने नियम २०७५ असोज २४ गतेबाट लागू गरेको थियो । परीक्षा उत्तीर्ण भएपछि मात्रै ट्राफिक नियम अनुसार कारवाही गरेर मापसे गर्ने चालकलाई सवारी साधन र कागजपत्र फिर्ता दिने नियम छ ।
सात महिनाको अवधिमा मापसे गर्ने दुई हजार छ सय एक जना चालकले लिखित परीक्षा दिएकोमा दुई हजार चार सय ८७ जना उत्तीर्ण भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । उनका अनुसार मापसे गर्ने मध्ये एक सय १४ जनाले अनलाइनमार्फत परीक्षा दिएका छन् । ति मध्ये ४४ जना उत्तीर्ण भएका छन् ।

मापसे गरेर सवारी चलाएमा प्रहरीले सवारी साधन र कागजपत्र नियन्त्रणमा लिने गरेको छ । परीक्षामा सहभागी नहुने र परीक्षामा उत्तीर्ण नहुने चालकको कागजपत्र र सवारी साधन प्रहरी नियन्त्रणमै हुने मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए । उनका अनुसार तथ्याँक विश्लेषण गर्दा मापसेका कारण अत्यधिक दुर्घटना हुने गरेको पाइएपछि दुर्घटना न्यूनीकरण गर्न र सवारी चालकमा सचेतना फैल्याउन परीक्षा लिन थालिएको हो । केसीले लिखित परीक्षा लिन थालिएपछि मापसे गर्ने चालकको संख्या र सवारी दुर्घटनामा पनि कमी भएको जानकारी दिए ।

