अ+
अ
अ-
बोझ (कविता)
सरोज उपाध्याय
समयको बोझ कता बिसाउं बिसाउं भा’छ
बोझ बिसाउने चौतारा चैं मासिएर गा’छ।
मनको कुरा कसैलाई सुनाउं सुनाउं भा’छ
सुनाउने कान खोज्दा मुख सामून्ने आ’छ।।
सुन्नु पर्ला भनी कान थुन्ने रित रै’छ
अचेल यहां यस्तै रितको नाउं प्रित रै’छ।
न्याउलीको पिडा जसै सुन्दा गीत रै’छ
पिडाको आंशु भन्दा प्यारो शीत रै’छ।।
परालको मुठो कतै घांस हुंदो रै’छ
बांचुन्जेल सम्बन्धमा आश हुंदो रै’छ।
काम कुरो एकातिर कुम्लो अर्कै रै’छ
मनका कुरा सुनाउंथें ध्यान अन्तै रै’छ।।
सुख साट्न सबै संग फूर्सद हुने रै’छ
दुःख साट्न खोज्यो भने पिडा हुंदो रै’छ।
जुन डोरीको भर गर्यो उहि चूंडिदो रै’छ
मान्छे भनी हात समायो मुर्ति बन्दो रै’छ।।
मितिः २०८१ चैत्र १२


