कविता :- नागरिककाे चाहाना

+
-

दिनेश राज खरेल

नागरिकहरु आज भाेलि सडकमा देखिन थालेका छन्
राग अलाप्न थाल्दै छन्
मधुर संगीतकाे धुनसँगै अपिल गरिरहेछन्
सरकारलाई र भन्दै छन् खुलेआम
सरकार तिमी मलाई जल्न देउ
म तिम्रो लाेक सभा अगाडि जल्न चाहान्छु ।
सरकार तिमी मलाई बल्न देउ
पानीमा सल्काएकाे आगाेले जलेकाे जंगल जस्तै ध्वस्त भएर ,
म बल्न चाहान्छु ।
सरकार तिमी मलाई गल्न देउ
कुहिएकाे आलु र सडकमा फालिएको टमाटर जस्तै,
म फतक्कै गल्न चाहान्छु ।
यस्तै,उस्तै राग अलाप्दै छन रे नागरिकहरु
तर सिंहदरबार मौनता प्रदर्शन गर्दै छ ।

किसानहरु खेत-बारीमा छैनन्
हातमा हलाे छैन
काेदालाे र फालि छैन
हलमा गाेरु छैन
किसानलाई कतै देखे जस्तो लाग्याे
माइतीघरमा उभिएकाे सालिकसँगै ।
उनिहरु पनि मधुर धुनमा राग अलाप्दै छन् रे
सरकार तिमी मेराे अन्नपात उठाइदेउ बारिबाट
र बिचौलियालाई पाेस्ने काम गर ,
म भाेक भाेकै मर्न तयार छु माइतीघरमा अनसन बसेर ।
सरकार तिमी लघुवित्त र सहकारी पठाइदेउ मेराे आँगनमा
म १सय प्रतिशतकाे ब्याजमा ऋणको तमसुक बनाउन तयार छु ।
सरकार तिमी मिटर ब्याजी नेता पठाइदेउ मेराे गाँउमा
म ,मेराे धनीपुर्जा उसकाे नाममा नामसारि गरिदिन तयार छु ।

यस्तै गीत सुन्दै छु ! संघीय संसद वरिपरि
तर,सरकार नतमस्तक छ।

तरुणहरु गुनासाेका पाेका नखाेल
सरकारसँग अपिल गर
सरकार तिमी देशमा राेजगारी सिर्जना नगर् ,
किनभने उसले विदेश जान पासपोर्ट बनाई सक्याे
सरकार तिमी श्रमिक लैजाने देशसँग श्रम सम्झौता गर् ,
उ मलेसिया जान तयार छ
उ जापान ,काेरिया र कतार जाने मुडमा छ ।
साइबेरियाबाट चराहरु बसाइँ सरे जस्तै
राेजगारी खाेज्ने सिलसिलामा
उ पनि देश छाेडेर बसाइँ सर्दै छ ।
श्रम सहिद बनाइने देशकाे नागरिक
बालकुमारीमा मृत्युवरण गर्छ ।