कविता : लुट राष्ट्र लुट

+
-

लुट राष्ट्र  लुट

कालिका त्रिपाठी पन्थ

यो देश मेरो म भनु कसोरी ?
हुँ राष्ट्रवादी म बनु कसोरि ?
झुकाइ शिर बोकिरहेछु झण्डा
गरुँ ठाडो शिर दिइन्छ डन्डा ।

वसन्त ऋतु नि पलाउँदैन
बर्षा शरदले नि बोलाउँदैन
रित्तिएको हिउँ पहाड जस्तो
म रित्तो भित्तो भएको छु सस्तो।

अगाडि निर्वाचन मेरो देश
पछाडी निर्वाचन फेर्छ भेष
कथा हो रे बोली नेताहरुको
जेथा भयो देश जेठाहरुको।

युवाहरुको बोली बन्द पारी
चौरासी गर्जन्छ जुँघा मुसारी
सस्तो टिकट दिन्छ रे उड्नलाई
बाटो छ रे बन्द म हिंड्नलाई ।

शिक्षा लिएकै हो दिएन ज्योती
सागर डुबेकै हो मिलेन मोति
पढेर स्कुल पुगिन्छ खाडी
बगेर  युवाको उतै छ बाढी।

बस्नु कति हम्की प्रमाणपत्र
जागिर दिँदैन उहीँ बन्दसत्र
भन्दानि जाँदिन समुन्द्र पारी
फाल्दिन्छ यो राष्ट्र  उतै झटारी।

देश छोडी बिदेशिनु बाध्यता छ
जनता बेची देश के साँच्चेला त  ?
यस्तो नितिसँग लगाइ प्रीत
नेपाली जनताको हुँदैन  हित।

बजार बल्दो छ बढेर मूल्य
पानीको भाउ   निछ तेल तुल्य
सक्ने भए खान्थे बेचेर वायु
भोको म मर्दो छु घट्दो छ आयु।

झुकेको छु आज थुनेर मुख
दुखेको छु आज दुखेर दु:ख
स्तब्ध मन बोकि डुलिरहेछु
स्वतन्त्रता भन्ने भुलिरहेछु।

साखुल्ले जब्बरले दिदैनन बोल्न
प्रताडना मनको भएन खोल्न
जय जयकार गरु कतिदिन ?
मारेर इच्छा म मरु कतिदिन ?

बसि कुर्सिमाथी लिएर भाँटा
हानिरहन्छन निको हुन्न खाटा
हुन् कंशका वंश सकिन्न क्यारे
आउ बचाउ नव कृष्ण प्यारे।

जो आयो उस्तै छ चिरेको कान
पचेन  भोट्  हाली दिएको दान
चुनाव अघि देव पछाडी  भुत
मरे धामी झाँक्री लुट राष्ट्र  लुट ।