काठमाडौं । बैंकिङ कसुर तथा ठगीसम्बन्धी विभिन्न मुद्दामा फरार रहेका वीरबल तामाङलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार नुवाकोटको किस्पाङ गाउँपालिका–३ घर भई काठमाडौं महानगरपालिका–२६ नयाँबजार बस्दै आएका तामाङलाई प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–२१ हनुमानस्थानबाट पक्राउ गरेको हो।
प्रहरीले उनलाई पक्राउ गरी नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ। तामाङको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) अभिलेख जाँच गर्दा जिल्ला प्रहरी परिसर काठमाडौंसहित भक्तपुर जिल्ला प्रहरी परिसर, प्रहरी वृत्त जनसेवा, दरबारमार्ग, लैनचौर र महाराजगञ्जमा बैंकिङ कसुर तथा ठगीसम्बन्धी मुद्दा रहेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीविरुद्ध काठमाडौंमा मात्रै दर्ता भएका पाँचवटा बैंकिङ कसुर तथा ठगीसम्बन्धी मुद्दामा करिब ८ करोड ५८ लाख रुपैयाँ बराबरको बिगो देखिएको छ। भक्तपुर, जनसेवा, दरबारमार्ग र लैनचौरमा दर्ता अन्य मुद्दासमेत जोड्दा बिगो रकम अझ बढी रहेको छ।
पक्राउ परेका तामाङलाई सम्बन्धित मुद्दामा आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ। बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ गर्ने प्रहरी अभियानअन्तर्गत पछिल्लो समय विभिन्न जिल्लामा यस्ता कारबाही तीव्र पारिएको छ।


