समाचार

सुशीला ढकाल शब्दयात्रा सूर्यप्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कारबाट सम्मानित

 

माघ १३ शनिबार २०८०,भूमिकला पौडेल

काभ्रेपलान्चोक । शब्दयात्रा प्रकाशनले २०८० सालको “शब्दयात्रा सूर्यप्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कार” बाट सुशीला ढकाललाई सम्मानित गरेको छ । शब्दयात्रा प्रकाशनद्धारा काभ्रेको बनेपामा शनिबार आयोजित “पुरस्कार सर्मपण तथा पुस्तक सार्वजनिकरण समारोह” को अवसरमा उहाँलाई सो पुरस्कार समर्पित गरिएको हो । स्याङ्जा जिल्लामा जन्मेकी ढकाल दुवै हात नभएता पनि लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेर सरकारी सेवामा प्रवेश गर्नु भई हाल आन्तरिक राजस्व कार्यालय टंगालमा राजस्व अधिकृत पदमा कार्यरत हुनुहुन्छ । सुशीला ढकाललाई नेपालको निजामती प्रशासनमा सङ्घर्षशील र प्रेरक महिलाका रूपमा चिनिन्छ । सो पुरस्कारको कोष व्यवस्थापन पूर्वप्रशासक तथा कूटनीतिज्ञ सूर्यप्रसाद श्रेष्ठले गर्नुभएको हो ।
शब्दयात्रा प्रकाशनले सोही अवसरमा अन्य पाँच जना व्यक्तित्वहरूलाई पनि २०८० सालको विभिन्न पुरस्कारहरू समर्पण गरेको छ । जसमा “शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार” बाट मानवशास्त्री तथा समाजशास्त्री प्रा. डा. प्रेमकुमार खत्री, “शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ संखुवाासभा प्रतिभा पुरस्कार” बाट महाकाव्यकार सोमराज अभय, “शब्दयात्रा नारायणी–शङ्कर राष्ट्रिय योगप्रतिभा पुरस्कार” बाट योगप्रशिक्षक डा. चिन्तामणि गौतम, “शब्दयात्रा भरत जङ्गम भक्तपुर प्रतिभा पुरस्कार” बाट लेखक तिलक प्रकाश तथा “शब्दयात्रा लीला–मध्यमार्ग काभ्रेपलान्चोक प्रतिभा पुरस्कार” बाट संस्कृतिकर्मी विश्व उलक सम्मानित हुनुभएको छ ।
समारोहमा शब्दयात्रा प्रकाशनबाट प्रकाशित तीन पुस्तकहरूको सार्वजनिकरण गरिएको छ । ती पुस्तकहरूमा साहित्यकार ज्ञान उदासद्वारा लिखित कथासङ्ग्रह “तोपको आवाज”, साहित्यकार केदारनाथ तिमल्सिनाद्वारा लिखित कथासङ्ग्रह “तीस कथा” र प्रेमकुमार कर्माचार्यद्वारा लिखित पुस्तक “मानबहादुर कर्माचार्य र गुर्जन ठाकुर” रहेका छन् ।

प्रा. केदारनाथ श्रेष्ठको सभापतित्वमा आयोजित सो समारोहको प्रमुख आतिथ्यता अग्रज समाजसेवी तथा लेखिका सावित्री जङ्गम थापाले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले गर्नुभएको थियो ।

(पौडेल अपाङ्गता अधिकार तथा सञ्चारकर्मी हुनुहुन्छ )

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *