एउटा सेवा निवृत्तकाे मनाेभावना

+
-

गाेविन्द प्रसाद हुमागाँई

जीवन एउटा भाेगाइकाे प्रकृया हो । बालपन ,युवा हुदै मानिसकाे जीवन बुढ्यौलीमा लम्कन्छ र समयसँगै शरिरले बिसर्जन लिन्छ। याे नै धुर्व सत्य हो ।

मानिस सामाजिक र पारिवारीक प्राणी हो । उसले जिवनमा परिवारकाे सृष्टि गर्छ। जीवन जिउने सिलसिलामा अनेक दुख कष्ट भाेगेकाे हुन्छ।  उसले समाजका निम्ति त्याग र याेगदान गरेको हुन्छ । परिवारकाे पालन पाेषण ,सुख र शान्तिकाे खातिर अनेक परिवेश र परिस्थिति भाेगेर आएको हुन्छ ।  ।

परिवार र समाजकाे निम्ति जिवनभर संघर्ष गरेको मानिस  जब बुढ्यौलीमा प्रवेश गर्छ तब उसले जिवनकाे तिताे सत्य अनुभव गर्न थाल्छ।  यहाँ एउटा बुढ्यौलीकाे अनुभव लिदै गरेको बृद्धकाे अनुभव समेटने प्रयास गरिएको छ।

मैले जिवनमा जे गरें ,यो समाज र परिवारकाे निम्ति केही गरें। म एक दिन बुढाे हुने निश्चित छ। उमेरले नेटाे काट्दै गएपछि म  बूढो हुने छु । मान्नु म बुढाे भएँ । मेराे शरीर जिर्ण भए। त्यतिबेला मलाई के गर्नु के नगर्नु ! के  हुने छ ? के हुने छैन? मेराे मानसपटलमा घुमिरहेकाे छ।

एक दिन म एक जीर्ण बूढो हुदै जाने छु । म बृद्धअवस्थामा केही गर्न नसक्ने हुने छु । शरिरिक रुपमा अशक्त हुने छु ।त्यतिबेला  तिमी म संग केहि समय बस्न फुर्सद निकाल्न सक्छौ ? मेरो विषयमा साेधपुछ गर्ने समय हुन्छ कि हुदैन हाेला ? मेराे कानले राम्रोसंग नसुन्न सक्छु ।  एउटै कुरो दोहोऱ्याएर सुनाउन सक्छौ त  ? उल्टै तिमिले नै झर्काे मान्ने हौ कि ?

बुढेसकालमा तागत पनि कमजोर हुन्छ । हिड्दा शरीर लरबराउँछ । हात खुट्टा काँपने छन् । तिमिले किनेकाे सिसाकाे गिलास अचानक खसेर फुट्न सक्छ,त्यसबेला  मलाई गाली नगरी माफ गर्न सक्छौ ?

मेरा आँखा कमजोर हुने छन् ।  म स्पष्टसँग आँखा  देख्न सक्दिनँ, भ्रम र गल्ती हुन सक्छन, मलाई चिच्याएर गाली नगरी बस्न सकौला र ? किनकी यो दुनियामा वल्ड इज गाेल्ड भनिन्छ तर   बुढा -पुराना मानिसहरु सधैं उपेक्षित हुने गर्छन्, किन हो कुन्नी ? बारम्बार तिमिलाई प्रश्न गर्न मन लागिरहन्छ।

मेरो एउटै बिन्ती आग्रह छ, कान नसुने बहिरो नभन्नु, आँखा नदेखे अन्धो नभन्नु, म प्रकृतिको नियम अनुसार बुढो भएको हुँ, रहर ले हैन । मेरा दाँत पुरै झरेर जाने छन जसका कारण बोली अस्पष्ट सुनिने छ, के म बोलेको बुझ्ने कोशिष गर्न सकौला र ?  तिमी बच्चामा मुख चलाउँदा बित्तीकै मैले तिम्रो भाषा बुझिहाल्थें । कमजोरीका कारण हिंड्न पनि कठिन हुनेछ, के वाल्यकालमा तिम्लाइ डोऱ्याएको पैंचो तिर्न सक्छौ र ?

एक दिन अन्तिम घडी पनि पक्का आउने छ ।म….. सुतेको ओछ्यान मै फोहोरो गर्न बाध्य हुनेछु किनभने मेरा शरिरकाे अंगहरु शिथिल भइसकेका हुने छन् । कृपया दुर्गन्ध आयो भन्दै टाढा नहुनु । म मरे पछि दिइने सम्मान जिवित रहँदै दिनु , मरे पछि जो जाे इष्ट मित्र जम्मा हुनेछन् तिनिहरु म नमर्दै जम्मा भएर बस्नु । म मरे पछि गरिने प्रशंसा जिउँदो रहँदै गर्नु किनकी म मरे पछि कसले के भन्छ मैले सुन्दिन ,मैले  देख्दिन । डाँडा माथिको घाम भनेर सम्झनु र मेरो हात तिम्रो मुट्ठीमा समेटेर राख्नु। जब तिमिले प्रेमले मेरो हात समाउनेछौ तब सम्म मेरा श्रष्टा पनि मलाइ लिन टुप्लुक्क आइ पुगेका हुनेछन् । म तिमलाई राम्रो संग बस्नु भन्दै म यहाँबाट बिदा हुनेछु ।

आखिर मान्छे मरि हाल्यो भने के  हुन्छ त ?………

मैले शरीर छाेडेकाे दिनदशंख बजाउँदै गाउँ समाजमा जानकारी दिने होलान । टाढा रहेका छोरा छोरिहरुलाई खबर गर्न सबैले  हातमा मोबाईल लिएर बस्ने होलान । कसैले फेसबुक र ह्वाट्सएपमा फोटो टाँसेर “श्रद्धाञ्जली” व्यक्त गर्ने होलान ।

छोरा छोरी बेफुर्सदका कारण मेरा अन्त्यष्ठिमा आउन सकिएन भन्ने खबर सुनाउन छन् होला । घरमा भएका श्रीमती लगायत अन्यसुँक्क-सुँक्क गर्दै सागर सम्म छर्ने बुर्की, टीला, घिउ बाती ठिक्क पारेर दिने होलान ।

कसैले फोन गरेर सागरमा चाहिने दाउरा र चिया चमेनाको ब्यबस्था गरिरहेका हुनेछन । लास जलिरहेको हुनेछ, कोही घर फर्केर काममा लाग्ने छन भने कोही जलिरहेको लास हेरेर मृतकका राम्रा र नराम्रा आलोचना र प्रशंसा गरिरहने छन् ।

मेराे मृत शरीर घाटमा सेलाएसँगै घरमा रुवाबास सिद्धिने छ । अब के खाने के नखाने मेनु हेरेर खानाको बन्दोबस्त तिर लाग्ने छन ।भोली पल्टबाटै मृत्युशोकको पिडा कम महशुस गर्न थालिने छ, अनि मेरो अनुपस्थितिमा फोटो राखिने छ ।

अन्तिम  तिथीमा सबैलाई बोलाएर रोटी, खीर, मिठाई ,पकवान खुवाइने छ । अर्को वार्षिकोत्सब  श्राद्धमा सबै आफन्त भेट हुने  भन्दै  बिदा हुनेछन् । चौधौं दिन पछि  मरेकाे मान्छेको याद  आउन पनि छोड्ने छ ।  छोराछोरी आफ्नै पेशामा ब्यस्त हुनेछन । नातिनातिनाहरु पार्टी पिकनिक र घुमफिरमा रमाउने छन, भने श्रीमती टी. भी .सिरीयल  हेरेर दिन काट्ने छिन्  अब बार्षिक श्राद्धमा बाहेक अन्य दिन मेराे संझना गर्ने काेहि  हुने छैनन्। मृतकको साक्षी फगत फोटो मात्र हुनेछ ।

  जिन्दगीको सच्चाइ यही हो, यहाँ आफ्ना आँखाका आँशु पनि  आफ्ना हैनन् ।आँफुले फेर्ने श्वास पनि आफ्नो बसमा छैन । ज्यादा दौडधुप के- का लागी ? फगत ।