समाचार

जिसस काभ्रेको साझेदारीमा राेशि ६ काे वडा कार्यालय निर्माण सम्पन्न ,आजबाट सेवा प्रवाह सुरु

पुस १५ आइतबार ,२०८०

काभ्रेपलान्चोक । जिल्लाकाे रोशी गाउँपालिका वडा नम्बर ६ काे नयाँ भवन निर्माण सम्पन्न भएको छ। वडा कार्यालयले नयाँ भवनबाट आजदेखि सेवा प्रवाह शुरु गरेको हो । नवनिर्मित भवनको आज बागमती प्रदेश सरकारकाे खानेपानी, उर्जा तथा सिँचाई मन्त्री तीर्थ बहादुर लामाले उदघाटन गर्नुभएको हो ।

कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री लामाले जनताको जीवनस्तर उकास्न अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । ‘भौगोलिक विकटताका कारण पनि सोचे जति विकास गर्न सकिएको छैन् । जनताको जीवनस्तर उकास्न हामीले धेरै काम गर्न बाँकी छ ।’ मन्त्री लामाले भन्नुभयो ।

पुर्व मन्त्री एवं नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक रत्नप्रसाद ढकालले नवनिर्मित भवनबाट सेवा प्रवाहमा सहजता हुने धारणा राख्नुभयो ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले कार्यालय निर्माणको अन्तिम चरणमा भएपनि साझेदारी गर्न पाउँदा खुशी लागेको बताउनुभयो । ‘वडा कार्यालय नहुँदा झेल्नु परेको समस्या अब टरेको छ । नयाँ भवनबाट सेवा प्रवाह सहज हुनेछ । हामी जनप्रतिनिधिले जनतालाई सहज हुने काम गर्नुपर्छ ।’ जिसस प्रमुख गौतमले भन्नुभयो ।

कार्यालय निर्माणका लागिका जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले १४ लाख रुपैयाँ साझेदारी गरेको थियो । भवन र कम्पाउण्ड सहित ९६ लाख, ५८ हजार १५८ रुपैयाँ खर्च भएको बताइएको छ ।

भवन अभावमा वडा कार्यालयको सेवा कटुञ्जेबाट प्रवाह हुँदै आइरहेको थियो । अब भने यहीँ भवनबाट सेवा प्रवाह हुनेछ । रोशी गाउँपालिकाको ५ र ८ नम्बरको वडा कार्यालय मात्रै नयाँ भवनमा सर्न बाँकी छ । प्रमुख प्रशासकीय अधिकृत राम बहादुर लामाका अनुसार यी दुई वडा कार्यालयको भवन पनि निर्माणको अन्तिम चरणमा पुगेको छ ।

कार्यालय निर्माणका लागि स्वर्गीय टेक बहादुर तामाङ, रत्न बहादुर तामाङ, मान बहादुर तामाङ, स्वर्गीय राम बहादुर तामाङ, धन बहादुर तामाङ र ज्ञान बहादुर तामाङले जग्गा दान गर्नुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *