टुकी सम्बादाता ,पुस १५
काठमाडौ । सामान्य अर्थमा ल्होछार (ल्होसार ) भनेको बुद्धिष्टहरुको नयाँ बर्ष हो । ल्होछार’ शब्द ‘ल्हो’ अर्थात् वर्ष वा साल र ‘छार’ वा ‘सार’ अर्थात नयाँ भन्ने दुई शब्द मिलेर बनेको छ । ल्होछार धर्म नभई सँस्कृति हो । यसलाई साँस्कृतिक पर्व को रूपमा पनि लिइन्छ । यस दिन तामाङ समूदायले विशेष परम्परागत अनि साँस्कृतिक महत्वकासाथ ल्होछार मनाउँदछन् । यसरी नेपालको उच्च पहाडी भेग र पहाडि भेगमा बसोवास गर्ने तामाङ समूदाय लगायत उत्तर छिमेकी मुलक चीन ,जापान,भुटान,कोरिया, सिङ्गापुर सहितका बौद्धमार्गीहरुको घनत्व रहेको क्षेत्रमा पनि यस दिनलाई हर्ष बढाई गर्दै नयाँ वर्षको रूपमा मनाउने गर्दछन् ।
विक्रम सम्वत् २०६४ साल यता सोनाम ल्होछारलाई राष्ट्रिय पर्वको मान्यता दिएर नेपाल सरकारले सार्वजनिक विदा दिंदै आएको छ । सोनाम ल्होछार राष्ट्रिय पर्व भएका कारण राष्ट्र प्रमुखदेखि अन्य विशिष्ट ओहोदाका व्यक्तिहरुले शुभकामना सन्देश दिने चलन छ । ल्होछार मनाउने समूदायमा ‘ल्हो’ अर्थात् वर्षहरु बाह्रवटा हुन्छन् । ती वर्षका नामहरुलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेंडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ, मुसाबाट शुरु हुने यि वर्षहरु जङ्गली बँदेल वर्षमा पुगेर सकिन्छ । बाह्र वर्गका वर्षहरुलाई बाह्र राशीका रूपमा पनि लिने गरिन्छ ।
विशेषगरी नेपालमा तामाङ जातिले सोनाम ल्होछारका अवसरमा कूलपूजा र प्रकृतिको पूजा गर्ने गर्दछन् । यस समूदायमा आज छोरीचेलीलाई बोलाएर टिका लगाइदिने गरिन्छ ।
तामाङहरुका अलवा ल्होछार पर्व शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चा लगायतका जातीले मनाउँदछन् । गुरुङले मनाउने ल्होछारलाई तमु ल्होछार, तामाङ लगायतका जातिले मनाउनेलाई सोनाम ल्होछार, शेर्पा र भोटे जाती लगायतले मनाउने ल्होछारलाई ग्याल्पो ल्होछार भनिन्छ । सोनाम ल्होछार पर्व तामाङ जातीहरु पुगेका नेपाल सहितका अन्य मुलुकहरु सिङ्गापुर, मङ्गोलिया, मलेसिया, भारत, थाइल्यान्ड, भियतनाम, भुटान, लाओस, म्यान्मार, जापान लगायतका देशमा मनाइदै आएको छ । ल्होछारको दिन यी देशहरुका अधिकांश वौद्धविहारहरु रगिंन र उल्लासमय हुन्छन्, रंगीन सजावटका ध्वजा पताका अनि पुष्पद्वारलगायत अन्य मनमोहक सजावटले यो दिन वौद्धविहार बडो गज्जब देखिन्छ । मुख्यतया डाँडाकाँडामा भएका नेपाली बौद्धविहारहरुमा गरिएको यस्तो सजावटले परैबाट आँखा तान्दछ, असिम आनन्दको अनुभुती हुन्छ ।
तामाङले मनाउने सोनाम ल्होछार माघ शुक्ल प्रतिपदाको दिन पर्दछ । ल्होछारको शुभकामना र रौनकता औसि देखी पुरनीमा सम्मा रहन्छ ।
सोनाम ल्होछारमा घर बस्तीहरु सफा गरी वुद्धका चित्रहरु अंकित ध्वजापताकाहरु टाँगेर वुद्धको पूजाअर्चना गरिन्छ । कतिपय ठाउँमा जात अनुसारका गाउँका लामा र मुखियाको उपस्थितमा सबैजना एकै ठाउँमा भेला भई नाचगान रमाईलो पनि गरिन्छ । यसरी गाईने अनि नाचिने गीतहरूलाई ‘तामाङ सेलो’ भनिन्छ, सुस्तरि तर वडो मधूररुपमा गाईने यस्ता सेलोहरुमा डाँडापाखा, कन्दरा अनि दैनिक जीवन भोगाई लगायत माया प्रेमका भावनाहरु पनि समावेश हुन्छ । डम्फु चाँही यस समूदायको मौलिक हस्ताक्षर बाजा हो । डम्फू अनि सेलोको सुमधूर मिश्रण मनमोहक हुन्छ । धेरैजसो यस्ता सामूदायीक कार्यक्रमहरु खुला आकाशमुनि गरिन्छ, परम्परागत पहिरनमा सजिएका तामाङ समूदायका ब्यक्तिहरु लगायत अन्य सबै समूदाय अनि सबै धर्मका ब्यक्तिहरुलाई यस समूदायले खुल्ला हृदयले स्वागत गर्दछन् ।
ल्होछारमा प्रतिपदाको दिन सबैभन्दा सुरुमा घरहरु सफा सुग्घर गर्ने र नुहाईधुवाई गरेर लामा गुरुहरुबाट पुजापाठ गराईन्छ । पुजापाठ गरेर लुङ्दर राखीसकेपछि औँशीको तिथिमा राति ११ बजे ल्हो फालेर विभिन्न परिकारहरु बनाइन्छ । जस्तै पञ्चाअमृत अर्थात दुच्छे, खम्सी, गथुम्बा, छेमार लाखङहरु बनाएर मनाइन्छ । बिहानै लामा गुरुले ला म्हेन्दो (टटेलाको फुल) को टिका लगाउँदै आर्शिवाद दिनुहुन्छ । अनि आफूभन्दा ठूला मान्छे सबैलाई ढोगेर आर्शिवाद लिइन्छ । ल्होछारमा बिषेश गरी नयाँ नयाँ कार्यहरु बारे सोच्ने, कहिले नभेटेको आफन्तहरु भेट्ने घुम्ने अनि बिभिन्न साँस्कृति कार्यक्रम गरेर भावानत्मक रुपमा खुशी एकआपसमा साटासाट गरेर मनाइन्छ । काठमाण्डौमा भने यस दिन रत्नपार्क शान्तिबाटिका बाट र्याली निकाल्दै टुँडिखेलमा गएर कार्यक्रमको शुरुवात गरिन्छ । बि.स २०१३ सालमा स्थापित तामाङ समुदायको साझा संस्था नेपाल तामाङ घेदुङ र विभिन्न तामाङ संघसंगठनहरुको सहयोगमा टुँडिखेलमा विविध सांस्कृतिक कार्यम गरेर सोनाम ल्होछारलाई तीनदिनसम्म मनाउँदै आइरहेको छ ।
तामाङ परिकार भाल्डो,बाबरे रोटि र खाप्से दिने गरेका छन् । ल्होछार साँस्कृतिक कार्यक्रममा स्थानीय मौलिक ताम्बा(डम्फु) नाच र बोन्बो(झाँक्री) नाच पनि देखाउने गरिएको छ । त्यस्तै कार्यक्रममा प्रायः सबैले तामाङ मौलिक पोषाक लगाएर उपस्थित हुने गरेका छन् ।
(विभिन्न श्राेतहरुबाट साभार गरिएको हो ।)


