समाचार

स्वस्थानी व्रतकथा, भाग – १६ (वृन्दाले गुमाईन् सतीत्व)

कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि ! हिमालयका उत्तरपट्टि रहेको मानसरोवरमा महादेव राजहंसका राजाभई असङ्ख्य हाँसका बथान साथमा लिएर जलक्रीडा गरिरहनु भएको थियो । त्यसै बखतमा विष्णुलाई साह्रै बेग गरी अकस्मात् आएको देखी ‘हे विष्णु ! यस्तो बेगसित किन आउनुभएको ? तपाईंलाई कुन कुराको दुःखकष्ट आइपर्यो ?’ भनी करुणावतार महादेवबाट आज्ञा भयो । भगवान् विष्णु पनि हतारसाथ गरुडबाट ओर्ली महादेवलाई साष्टाङ्ग दण्डवत् प्रणाम गरी जालन्धरले पार्वतीलाई छल्न कैलाशमा गएको वृत्तान्त सुनाउनुभयो र ‘हजुर झट्टै कैलाश सवारी होस्, म त्यो जालन्धरकी स्त्री वृन्दाको पतिव्रता धर्म डगाई आउँछु’ भनी बिन्ती गर्नुभयो । महादेवले विष्णुको कुरा सुनी राजहंसको रूपलाई छोडेर आफ्नो रूप लिई क्रोधले राताराता आँखा पारी भन्नुभयो – ‘हे विष्णु ! म अब कैलाशमा जान्छु, तपाईं जालन्धरका घरमा गई त्यसकी पत्नी वृन्दाको धर्म डगाई आउनुहोस् । म त्यो पापी जालन्धरलाई नमारी छोड्ने छैन’ यति भनी क्रोधले युक्त भई पाखुरा निमोठी त्यहाँबाट अन्तर्धान हुनुभई कैलाशमा पुगी पार्वती लुकिरहेको ठाउँमा जानुभयो । महादेव आउनुभएको देखेपछि स्वामीका पाउ धोई ढोगेर पार्वतीले जालन्धर आएको वृत्तान्त सुनाउनुभयो । सबै कुरा सुनी सकेपछि महादेवले ‘हे पार्वती ! त्यो दुष्टकी स्त्री वृन्दाको सत्य डगाउन विष्णु जानुभएको छ । विष्णु आउनासाथ युद्ध गरी म त्यो जालन्धरलाई मारुँला’ भन्नुभयो । त्यसपछि भवानी र शङ्कर कैलाशमा आनन्दपूर्वक रहन लाग्नुभयो । हे अगस्त्य मुनि ! मानसरोवरबाट महादेवसित विदा भई जानुभएका विष्णु जालन्धरको भेष लिई अन्तःपुरमा जानुभयो । वृन्दाले पनि जालन्धर रूपधारी विष्णु आएको देखी स्वामी आइपुग्नुभयो भनी ढोकामा आई, पाउ धोइदिएर भित्र कोठामा लगी भन्न लागिन् – ‘हे स्वामी ! पार्वतीलाई छल गर्न भनी जानुभएथ्यो, सो के भयो ? अनि मभन्दा पार्वती कत्तिकी राम्री लाग्यो ?’ वृन्दाको कुरा सुनेर जालन्धररूपी विष्णुले भन्नुभयो – ‘हे वृन्दे ! पार्वतीलाई छल गर्न नसकिने रहेछ । किनकि पार्वतीको घरभित्र जाने ढोकाका द्वारेहरूले को आयो ? कस्तो आयो ? पहिले नै चिन्दा रहेछन् । मैले पनि ती घोरमूर्ति द्वारपाललाई देख्दै डराएर त्यहींबाट नै फर्किएँ ।’ जालन्धर भेषधारी विष्णुको त्यो कुरा सुनेर वृन्दाले शङ्का गरी ‘यी मेरा पति होइनन् । अवश्य नै यो कुनै अर्कोले मलाई छल गर्न आएको हो’ भनी ध्यानदृष्टिले विचार गरेर हेरिन् र ‘विष्णुले जालन्धरको रूप लिई छल गर्न आएको’ प्रष्ट बुझिन् । अब मैले कुनै युक्ति गर्नुपर्यो भनी हाउभाउ र कटाक्षद्वारा विष्णुलाई वशमा गराई भन्न लागिन् – ‘हे स्वामी ! म एउटा कुरा भन्छु, तपाईं मान्नुहुन्छ ?’ वृन्दाको कुरा सुनी विष्णुले पनि ‘तिमीले जे भन्छ्यौ, म अवश्य मान्नेछु’ भनी वाचा गर्नुभयो । अनि वृन्दाले ‘म फर्केर नआएसम्म यहीँ बसिरहनुहोला’ भनी ढोका थुनेर आफू अर्कै घरमा गएर बसिरहिन् । वृन्दा आज आउलिन्, भरे आउलिन् भनेर बाटो हेर्दा हेर्दै चारदिन बितेर गए । तैपनि नआउँदा वाचामा हारेका विष्णु विवश भएर त्यो कोठामा बसिरहे । यता कैलाशमा महादेवले विष्णु फर्केर नआएकोले ध्यानदृष्टिले विचार गर्नुभयो र पार्वतीसित ‘हे पार्वती ! वृन्दालाई छल्न जानुभएका विष्णुलाई ता वृन्दाले नै पो छलेर कोठामा थुनी राखेको रहेछ । अब छुटाएर ल्याउँछु’ भनी मायाद्वारा सोह्रवर्ष उमेरको एक अति राम्रो युवावयको भिक्षु सृष्टि गरी ‘वृन्दाले कोठाभित्र थुनेर राखेका विष्णुलाई भिक्षामा मागी ल्याऊ’ भनी आज्ञा भयो ।

यसरी आज्ञा पाएका ती भिक्षुक त्यहाँबाट अन्तर्धान भएर जालन्धरका घरमा भिक्षा माग्न पुगे । बलेसीबाट ‘भिक्षान्देही ! भिक्षान्देही !!’ को आवाज आएको सुनी वृन्दाले झ्याल खोली हेरिन् । अत्यन्तै राम्रो युवक भिक्षार्थी योगीलाई देखेर ‘यो योगी कत्ति राम्रो रहेछ, आजसम्म यत्ति राम्रो योगी मैले देखेकी रहिनछु, हाम्रा घरमा यी कहिल्यै आएका छैनन्, यस्ता नयाँ योगीलाई त अवश्य भिक्षा दिनुपर्छ’ भनी ‘हे योगी ! के माग्ने विचारले आउनुभयो ? भन्नुहोस्’ भनिन् । वृन्दाको प्रश्न सुनी योगीले ‘हे वृन्दे ! केही माग्ने विचारले आएको हुँ, दिन्छ्यौ भने माग्छु, नत्र के माग्नु ?’ भने । ‘मैले दिँदा हुने र मसित भएको जे मागे पनि दिनेछु’ भनी वृन्दाले वाचा गरिन् । त्यत्ति सुनेपछि भिक्षुक योगीले ‘हे वृन्दा ! मलाई अरुथोक केही चाहिएको छैन, तिमीले कोठामा थुनेर राखेको जो छ, म त्यसैलाई माग्छु’ भनी मागे । यो सुनी वृन्दाले मनमनै सोचिन् – ‘अब कसो गरुँ होला ? दिऊँ भने स्वामी आउँदा के देखाउने ? नदिउँ त वाचामा हारिसकेँ, यो योगीले छलपूर्वक वाचा गरायो, त्यसो त मान्छै भई जन्मिएपछि आफैंले गरेको वाचामा हार्नुभन्दा दिनु नै योग्य छ’ भन्ने ठानी आफूले कोठामा थुनिराखेको जालन्धररूपी विष्णुलाई बाहिर ल्याएर योगीलाई भिक्षाका रूपमा दान दिईन् । विष्णुलाई भिक्षामा पाएका ती योगी बाहिर निस्किएर त्यहाँबाट अन्तर्धान भई कैलाश पुगी महादेवका सामु सारा वृत्तान्त सुनाए । विष्णुले पनि वृन्दाबाट छुटकारा पाएपछि बाहिर आई मनमनै ‘वृन्दाको सत्य डगाउन आएकोमा आफै थुनामा बस्नुपर्यो, अब महादेवले के ठान्नुहुन्छ होला ?’ भनी सन्ताप मानी गरुडमा चढी योगीका सँगसँगै कैलाशमा पुग्नुभयो । यसरी विष्णु गरुडमा सवार भई आउँदा आएका शब्दबाट अचेत रहेका जालन्धर मूर्च्छाबाट बिउँझी ‘यत्ति ठूलो के को शब्द रहेछ ?’ भनी चारैतिर हेर्न लागे । त्यसबेला गरुडमा चढी आकाशमार्गबाट कैलाशतिर विष्णु आउँदै गरेको देखेर ‘पार्वतीलाई छल्न कठिन रहेछ । अब यहाँ धेरैबेर रहनु उचित छैन’ भनी जालन्धर आफ्ना घर अन्तःपुरतिर गयो ।

त्यसपछि भगवान् विष्णु कैलाशमा पुगी शिवपार्वतीलाई प्रणाम गरी एकातिर उभिनुभयो । विष्णुलाई देखेर महादेवले सोध्नुभयो – ‘हे विष्णु ! वृन्दालाई छल्न जानुभएथ्यो । यत्तिका दिनसम्म के गरिरहनुभएको थियो ? वृन्दाको सत्य डगाउने कुरा के भयो ?’ यो सुनी विष्णुले भन्नुभयो – ‘हे जगदीश्वर ! हजुरको आज्ञा लिएर म त्यहाँ गएँ, तर म आफै वृन्दाका छलमा परेँ ‘म नफर्कुञ्जेलसम्म यो कोठामा बसिरहनु’ भनी मलाई वाचाले बाँधी कोठाभित्र थुनेर वृन्दाचाहिँ बाहिर निस्किई । ऊ आउली भनेर पर्खंदापर्खंदै चारदिन बिते र पनि वाचामा हारेको अनि थुनामा परेको हुनाले आउन सकेको थिइन । भाग्यले एउटा योगीलाई दानका रूपमा मलाई दिएको हुनाले तपाईंको दर्शन गर्न आउन पाएँ’ विष्णुका यी वचन सुनी महादेवले ब्रह्मा, विष्णु सहित इन्द्रादि तेत्तीस कोटि देवता, यक्ष, गन्धर्व, किन्नर, नाग, नन्दी, भृङ्गी, प्रमथगण, भूत, प्रेत जम्मा गरी पापिष्ठ जालन्धरलाई मारी आऊ भनी आज्ञा भयो र शिवको आज्ञा शिरोपर गरी सम्पूर्ण देवताहरू जान तैयार भए । त्यसै बखतमा महादेवले नारद ऋषिलाई डाकी भन्नुभयो – ‘हे नारद ! अन्तःपुरमा गएर जालन्धरसित ‘तँसित युद्ध गर्न देवताहरू आउने भएका छन्, यसर्थ तँ पनि आफ्नो तैयारी गर्’ भन्ने मेरो सन्देश पुर्याइदिनुहोस् । महादेवबाट यस्तो आज्ञा पाएर नारद जालन्धरको घरतर्फ जाँदा भए ।
उता मूर्च्छाबाट ब्युँझेपछि जालन्धर पनि कैलाशबाट फर्की सीधै आफ्नो घर अन्तःपुरतर्फ गयो । आफ्नो स्वामी आएको देखी वृन्दाले स्वागत गर्दै गोडा धोई, पानी अचाई भित्र लगेर भन्न लागिन् – ‘हे स्वामी ! पार्वतीलाई छल गर्छु भनी जानुभएको काम के भयो ?’ यो सुनी जालन्धरले भन्यो – ‘हे प्रिये ! महादेवको भेष लिई जब म कैलाशमा पुगेँ, मलाई देखी पार्वतीले सुनको कमण्डलुमा जल लिई मेरा गोडा धुन ढोकामा आईन् । त्यत्तिबेला मैले उनलाई देखें, ‘राम्री भन्छ्यौ भने पार्वतीबाहेक अरु यो पृथ्वीमा छँदै छैन, उनको मुहार देख्ने बितिक्कै मेरो ता होश नै हराएछ, मूर्च्छा परी धर्तीमा गिरेछु, पछि चेष्टा भयो र उठेँ, अनि चारैतिर हेरेँ । त्यसबखतमा पार्वती कता गईन्, थाहा भएन र फर्की आएँ ।’ पतिका कुरा सुनी वृन्दाले भनिन् – ‘हे प्रिय ! तपाईं नभएका बेला विष्णुले तपाईंको रूप धारण गरी मलाई छल गर्न आएका थिए र मैले चिनेर थुनेर राखेकी थिएँ । केही दिनपछि एउटा अपूर्व सुन्दर युवक योगी आएर मलाई वाचाबन्धन गराई कोठामा लुकाएर राखेका विष्णुलाई माग्दा दिएर पठाएँ ।’ वृन्दाका कुरा सुनी अत्यन्त क्रोधित भएको जालन्धरले ओठ कमाउँदै भन्यो – ‘हे वृन्दे ! त्यसो हो नै भने म अब पार्वतीलाई छल गरी छोड्छु, फेरि जान्छु । यति भनेर बाहिर निस्किसक्दा महादेवले पठाएर गएका नारद ऋषि टुप्लुक्क आइपुगे ।

जालन्धरलाई देखी नारदले भने – ‘हे जालन्धर ! यस्तो हतारहतार कहाँ जान निस्क्यौ ?’ जालन्धरले पनि ‘भिक्षा माग्न जान लागेको’ भने । त्यसपछि नारदले भने – ‘हे जालन्धर ! मनलाई साक्षी राखी बोल । यस्तो मिथ्या कुरा किन बोल्यौ ? तिमी कहाँ जान लागेका हौ ? केका लागि जाँदैछौ ? त्यो सबै म जान्दछु । पार्वतीलाई छल्छु भन्ने कुरा तिम्रो मनमा छ । तर हेर ! तिमीसित युद्ध गर्न वहाँबाट ब्रह्मा, विष्णु, इन्द्रादि सकल देवता आउन तैयार भइरहेका छन् । यो कुराको खबर लिएर म यहाँ आएको हुँ । अब अरु कुरा सोच्ने र अन्त जाने तिम्रो बेला छैन । युद्धमा जान के के चाहिने हुन् ? त्यो तैयारी गर्न पछि लाग ।’ नारदले भनेका यी कुरा सुनी जालन्धर फरक्क फर्किएर घरभित्र पसी ऋषिले भनेका सबै कुरा वृन्दाका सामु भने र केहीबेरपछि ‘हे वृन्दा ! अब म लडाईं गर्न जान्छु, घरको रक्षा गरी राम्रोसँग बसेस्’ भनी हातमा त्रिशूल लिई, आफ्ना सेना जम्मा गरी देवताहरूसँग युद्ध गर्न भनी कैलाशतर्फ जाँदा भए । नारदले पनि जालन्धरलाई युद्धको खबर दिइसकेर फर्किएर कैलाश पुगी सबै कुरा महादेवमा बिन्ती गरे । नारदका कुरा सुनेपछि महादेवले ब्रह्मा, विष्णु र इन्द्रादि देवताहरूलाई दलबल सहित युद्धका निम्ति बिदा दिनुभयो । ती सम्पूर्ण देवताहरूले महादेवबाट विदा पाएपछि नाना तरहका बाजा बजाउँदै र सिँहनाद गर्दै कैलाशबाट युद्धका निम्ति प्रस्थान गरे ।

दुबै तर्फका सेनाको बाटामा भेट भयो । दुबैतर्फबाट कल्लोल शब्द गरी आआफ्ना शस्त्रास्त्रहरू प्रहार गर्न लागे, महासङ्ग्राम प्रारम्भ भयो । देवताले छोडेका अनेकौं शस्त्रास्त्रका प्रहारले जालन्धरलाई तिलले हिर्काएसरि पनि भएन । आफूले प्रहार गरेका शस्त्रास्त्रहरूबाट कुनै काम नभएको देखी देवताहरू दिक्क मान्दै आआफ्ना शस्त्रास्त्र लिई एकातिर गई चूप लागी बसे । त्यो देखेर विष्णुले रिसले चूर भएर पाञ्चजन्य शङ्ख बजाई, कौमोदकी गदालाई घुमाएर प्रहार गर्नुभयो । त्यसले पनि जालन्धरलाई छुँदै छोएन । त्यसपछि क्रोधले आकुल भएका इन्द्रले हातमा रहेको वज्र प्रहार गरी हेरे । त्यसले पनि केही गर्न सकेन । विष्णुको कौमोदकी गदा, इन्द्रको वज्रजस्ता आयुधहरूलाई जालन्धरले तृणजत्ति पनि नठानी चूपचाप उभिइरहे । कसैगर्दा पनि केही सीप नलागेको देखेर लक्ष्मीपति नारायणले महादेवमा गई बिन्ती गर्नुभयो – ‘हे भव ! हामीले जालन्धरलाई मार्न असमर्थ भयौं । तपाईं नै यसका निम्ति सामर्थ्यवान् हुनुहुन्छ । यसकारण तपाईंले लडाईं गर्न अघि सर्नुपर्यो’ भनी निवेदन गर्दा महादेवबाट आज्ञा भयो – ‘हे विष्णु ! जालन्धरकी पत्नी वृन्दाका महान् पतिव्रता नारी हुन् । उनको उक्त पातिव्रत्य धर्मका प्रभावले उनको पति जालन्धरलाई कसैले पनि मार्न सक्दैन । यसकारण फेरि पनि तपाईंले जालन्धरको रूप धारण गरी अन्तःपुरमा गएर मायाले छोपी छलद्वारा वृन्दाको पतिव्रता धर्म नष्ट गराइदिनुहोस् । अनि यता म जालन्धरलाई मार्नेछु ।

महादेवको आज्ञा सुनी ‘हवस्’ भनी विदा भई जालन्धरको भेष लिएका विष्णु वायाँ हातमा त्रिशूल लिई, दाहिने हातले डमरु बजाउँदै अन्तःपुरमा पुग्नुभयो । स्वामी आउनुभयो भन्ने विश्वासमा परेकी वृन्दाले हत्तपत्त गोडा धोई, भित्र लगी आसनमा बसाली, बिन्ती गर्न लागिन् – ‘हे स्वामी ! महादेवसँगको लडाईं के भयो ? के गरेर आउनुभयो ?’ वृन्दाको कुरा सुनी जालन्धररुपी विष्णुले भन्नुभयो – ‘हे प्रिये ! आजै युद्ध कहाँ सकिन्छ ? हारजितको टुङ्गो छैन । युद्धमा साह्रै थाकेको हुनाले विश्राम गर्न आएको हुँ । साह्रै भोक लागेको छ । खानेकुरा ल्याऊ’ यस्तो कुरा सुनी वृन्दाले मीठामीठा खानेकुरा ठीक पारेर खुवाइन् । रातपरेपछि वृन्दासित अनेक तरहका वार्तालाप गरी आफ्ना मायाले छोपी वृन्दाको पतिव्रता धर्म नष्ट गराई रात बितेर उज्यालो भएपछि जालन्धरको रूप छोडी शङ्ख, चक्र, गदा, पद्म लिएका विष्णुले आफ्नो असली रूपको दर्शन दिनुभयो । यो देखी वृन्दा अत्यन्त रिसाएर ‘हे पापिष्ठ विष्णु ! तिमीले छल गरी मेरो पतिव्रता धर्म नष्ट गरिदियौ’ भनिन् । वृन्दाले त्यस्तो भन्नासाथ विष्णुले भन्नुभयो – ‘हे वृन्दा ! महादेवले जालन्धरलाई हिजो नै मारिसक्नुभयो । अब तिमीले मजस्तो वैकुण्ठको मालिकलाई पतिका रूपमा प्राप्त गरिसकेकी छ्यौ, मलाई पाएपछि किन फिक्री गरिरहन्छ्यौ ? तिम्रा पति जालन्धरको मृत्यु भएको खबर केही वेरमा नै आइपुग्नेछ ।’ यसरी विष्णु भगवानले वृन्दालाई सम्झाई बुझाई अनेकौं सान्त्वना दिनुभयो ।

इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये श्री स्वस्थानी परमेश्वर्याः व्रतकथायां वृन्दायाः पतिव्रताधर्महरणं नाम सप्तदशोऽध्यायः ।।

ॐ उपनयतु मङ्गलं वः सकलजगन्मङ्गलालयश्रीमान्
दिनकर–किरण निबोधित–नव–नलिनदलनिभेक्षणः कृष्णः ।।
काले वर्षन्तु पर्जन्यः पृथिवीशस्यशालिनी ।
देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदारकथाप्रसङ्गः ।।
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।
या ब्रह्माऽच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा बुध्यात्मनावाऽऽनुसृतस्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ।।
अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।
समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *