समाचार

नेपालमा बर्सेनि ३ हजार जनाको मिर्गौला फेल, पूर्वसचेतना नै निदानको उपाय

काठमाडौँ । नेपालमा प्रत्येक वर्ष ३ हजार जनाको मिर्गौला फेल हुने गरेको छ । राष्ट्रिय मिर्गौला उपचार केन्द्रका अनुसार नेपालमा १० जनाको मिर्गौला जाँच गर्दा एक जनामा मिर्गौलाको समस्या हुने गरेको पाइएको छ । नेपालमा करिब ३० लाख मानिसमा कुनै न कुनै रूपमा मिर्गौलाको समस्या रहेको विभिन्न अध्ययन–अनुसन्धानले देखाएको छ । यद्यपि, सरकारले मिर्गौला फेल भएका नागरिकको तथ्यांक एकीकृत गरेको छैन ।

स्वास्थ्य सेवा विभागको पछिल्लो तथ्यांकअनुसार ४ हजार ८ सय जनाले मिर्गौलाको डायलाइसिस गर्दै आइरहेका छन् । एक जनाको एकपटक डायलाइसिस गर्न सरकारले २ हजार ५ सय रुपैयाँ छुट्याएको छ । चिकित्सकहरूका अनुसार अचानक वा दीर्घ रूपमा शरीरको मिर्गौलाले काम गर्न छाडेको अवस्थामा शरीरमा जम्मा हुन पुग्ने विकारजन्य पदार्थलाई मेसिनको सहायताले शरीरबाट बाहिर निकाल्ने प्रक्रिया डायलाइसिस हो ।

राष्ट्रिय मिर्गौला उपचार केन्द्रका अनुसार हरेक वर्ष ३० हजार नयाँ मिर्गौलामा समस्या भएका व्यक्तिहरू थपिने गरेका छन् । सरकारले मिर्गौला फेल भएका विपन्न बिरामीलाई निःशुल्क डायलाइसिस, निःशुल्क मिर्गौला प्रत्यारोपण र आवश्यक उपचार तथा औषधिका लागि १ लाख रुपैयाँ सहुलियत रकम सहयोग गर्दै आइरहेको छ ।

सरकारले सूचीकृत गरेका डायलाइसिस सेन्टरबाट विपन्न नागरिकको डायलाइसिस गर्दा कुनै पनि शुल्क लाग्दैन । त्यसका लागि स्थानीय तहले विपन्न नागरिक भनेर प्रमाणीकरण गर्नुपर्ने हुन्छ । मिर्गौला रोग विशेषज्ञ डा। ऋषिकुमार काफ्लेका अनुसार मिर्गौलामा समस्या आउन नदिन जनचेतना प्रदान गर्न आवश्यक रहेको छ । उनले भने, ‘मिर्गौलाको समस्या हुन नदिन पहल गरेपछि मात्र नयाँ मिर्गौला रोगीहरूको संख्या घट्छ, त्यसका लागि सरकारले सचेतना फैल्याउनुपर्छ ।’

चिकित्सकहरूका अनुसार मिर्गौलामा समस्या आएपछि रगतको फोहोर र पानी शरीरमै बस्ने भएकाले समस्या देखापर्छ र मिर्गौलाले काम गर्न छोड्नु मिर्गौला फेल हो ।

राष्ट्रिय मिर्गौला उपचार केन्द्रका प्रशासकीय प्रबन्धक विमल बरालले मिर्गौला डायलाइसिस कार्यक्रमलाई सरकारी तवरबाटै व्यवस्थित र प्रभावकारी बनाइनुपर्नेमा जोड दिए ।

लक्षणहरू

पिसाब धमिलो आउने
धेरैपटक वा कम पिसाब लाग्ने
हातखुट्टा सुन्निने
छातीको पछाडिपट्टिको भाग सुन्निने
भोक नलाग्ने वा भोक बढी लाग्ने
छाला चिलाउने
अरुचि हुने
कुनै रोग लाग्यो भने लामो समयसम्म निको नहुने

बच्ने उपाय

प्रत्येक वर्ष मिर्गौला परीक्षण गराउने
प्रशस्त मात्रामा पानी पिउने
मधुमेह वा उच्च रक्तचापबाट बच्ने
बच्चामा प्रत्येकपटक ज्वरो आउँदा पिसाब जाँच गराउने राजधानीबाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close