समाचार
हिमपातले सुदूरपश्चिमकाे जनजीवन कष्टकर, भीमदत्त र दशरथ चन्द राजमार्ग अवरुद्ध
मौसममा आएको परिवर्तनसँगै सुदूरपश्चिमका अधिकांश उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । सुदूरका पहाडी जिल्ला डडेल्धुला, बैतडी, बाजुरा, अछाम, बझाङ र दार्चुलाका लेकाली क्षेत्रमा हिमपात भएको हो ।
बिहीबार रातिदेखि मौसममा आएको परिवर्तनसँगै उच्च क्षेत्रमा हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन् । गय रातिदेखि शुरु भएको वर्षाका कारण चिसो बढ्दै गएपछि परेको हिमपातले सुदूपहाडको जनजीवन प्रभावित भएको हो ।
सुदूरपश्चिमको प्रवेशद्वारमा रहेको पहाडी राजमार्ग भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको हगुल्डे र साँहु खर्कमा बढी हिमपात भएपछि पहाडी जिल्ला जोड्ने यातायात बन्द भएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बताए ।
सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाहरू बाजुरा, बैतडी, दार्चुला, अछाम, बझाङ र डोटीका विभिन्न पहाडी क्षेत्रमा सोमबार रातीदेखि भारी हिमपात भइरहेको छ ।
बाजुराको बिच्छ्या, रुगिन, जकोट, मानाको, कैलाशमाडौं छतारा, पाण्डुसैन, दहकोट, आटीचौरलगायत दर्जनभन्दा बढी स्थानमा भारी हिमपात भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । हिमाली गाउँपालिकाको साबिकको बिच्छ्यामा सबैभन्दा बढी हिमपात भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।
यसैगरी अर्को हिमाली जिल्ला बझाङको साइफाल, सुर्मा, छ बीसपाथीभेरा, खप्तड छाना गाउँपालिका, बुंगल नगरपालिकाका विभिन्न स्थानमा हिमपातले असर परेको छ । मंगलबार दिनभर भारी हिमपात भएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ ।


