माडीमा भेटियो नेपालकै नमुना गाउँ, गाउँका मान्छे यसरी भए मालामाल

अ+
अ
अ-

चितवनको माडी नगरपालिका माछा उत्पादनमा अगाडी रहेको छ । जिल्लाभरीका किसान माछा पालन व्यवसायमा छन् । माडीका किसानले माछा मात्रै पालेका छैनन् । उनीहरुको जिवसैली पनि परिवर्तन भएको छ । माछा पालेरै किसानले छोराछोरीलाई राम्रो स्कुलमा पढाउन थालेका छन् ।

‘छोराछारीलाई राम्रो स्कुलमा पढाउन सकिएको छ ।’ माडीका माछापालक किसान खगेन्द्र प्रसाद अधिकारी भन्छन्, ‘अहिले दुई छाक राम्रो खान सकिएको छ । पहिला झुप्रोमा थियौं भने अहिले पक्की घर छ ।’ माडीका खगेन्द्र जस्ता थुप्रै किसान छन् । जसको जिवन माछाले फेरिदिएको छ ।

परम्परागत धान खेती गर्दै आएका किसानहरु माछा पालन व्यवसाय सुरु गरेपछि धेरै खुसी छन् । जंगल नजिकैको खेतमा धान लगाएपनि जंगली जनावरबाट बचाउन नसकिने भएपछि धेरै किसान माछा पालन व्यवसायमा लागेको उनले बताए । स्थानीयले मात्रै नभएर माडीमा सर्लाही लगायतका जिल्लाबाट आएर पनि माछा पालन व्यवसाय सुरु गरेका छन् ।