फ्रान्सका सुपरमार्केटमा साइबर आक्रमणको आरोप इरानमाथि

अ+
अ
अ-

फ्रान्सले देशभरका करिब ७०० सुपरमार्केटको रेफ्रिजरेसन प्रणालीमा साइबर आक्रमण गरी खाद्य सामग्री बिगारेको आरोप इरानमाथि लगाएको छ । आक्रमणमा इरानको अर्धसैनिक इस्लामिक रिभोलुसनरी गार्ड कोरसँग आबद्ध समूह संलग्न रहेको निष्कर्ष निकाल्दै फ्रान्सले जिम्मेवार व्यक्तिहरूमाथि युरोपेली प्रतिबन्ध लगाउने जनाएको छ ।

गत अक्टोबर १२ मा भएको आक्रमणका क्रममा करिब छ घण्टासम्म फ्रिजको तापक्रम ५० डिग्री सेल्सियससम्म पुगेको थियो । यसबाट फ्रान्सका १० हजारमध्ये करिब ७०० सुपरमार्केट प्रभावित भएका थिए । पसलहरूले ताजा तथा जमाइएका खाद्य सामग्री फाल्नुपरेको थियो भने इन्टरमार्च सुपरमार्केट समूहले एकै दिनमा दशौँ लाख युरो बराबरको नोक्सानी भएको जनाएको छ ।

फ्रान्सको राष्ट्रिय साइबर सुरक्षा निकाय एएनएसएसआईले ‘शाहिद काभेह’ समूहलाई आक्रमणको जिम्मेवार ठहर गरेको छ । पेरिसका अभियोजकहरूले सङ्गठित साइबर अपराधसम्बन्धी औपचारिक अनुसन्धान सुरु गरेका छन् । आक्रमणकारीले इरानमा रहेका उपकरण, फारसी भाषा र इरानसँग सम्बन्धित इन्टरनेट ठेगाना प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ ।

विदेशमन्त्री जीन–नोएल बारोटले इरानी राजदूतलाई बोलाएर घटनाप्रति कडा विरोध जनाइएको बताउनुभयो । उहाँले आक्रमणले फ्रान्सको राष्ट्रिय हित र नागरिकको सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको उल्लेख गर्दै संलग्न व्यक्तिहरूमाथि प्रतिबन्ध लगाइने स्पष्ट पार्नुभयो । अभियोजक लोरा बेकुआउका अनुसार आक्रमणकारी समूहका नेता, उनका दुई सहयोगी र अन्य सम्भावित संलग्न व्यक्तिमाथि अनुसन्धान भइरहेको छ । उनीहरूविरुद्ध अन्तर्राष्ट्रिय गिरफ्तारी वारेन्ट जारी गराउने तयारी छ ।

यसैबीच, गत साता फ्रान्सका केही रक्त सञ्चय केन्द्रमा तापक्रम बढाउने उद्देश्यले गरिएको अर्को साइबर आक्रमण रगतका उत्पादनमा क्षति पुग्नुअघि नै विफल भएको थियो । स्विडेन, बेल्जियम, लक्जमबर्ग, आयरल्यान्ड र इस्टोनियाका सुपरमार्केटमा पनि साइबर आक्रमणको आशङ्कामा फ्रिज तथा फ्रिजरमा समस्या देखिएको थियो ।

एएनएसएसआईले सन् २०२० यता फ्रान्सविरुद्ध भएका अन्य साइबर आक्रमणमा पनि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरसँग आबद्ध ‘शाहिद सुओस्तारी’ समूहको संलग्नता रहेको जनाएको छ । तीमध्ये सन् २०२३ मा व्यङ्ग्यात्मक पत्रिका ‘चार्ली हेब्दो’ र सन् २०२४ मा पेरिस ओलम्पिकको आयोजनालाई लक्षित गरिएका आक्रमणसमेत छन् ।