काठमाडौँ । विश्वव्यापी तापक्रम वृद्धिले पृथ्वीको प्राकृतिक सन्तुलनदेखि मानव अस्तित्वसम्ममा चुनौती थपिरहेका बेला सोमबारदेखि टर्कीएको अन्ताल्यामा सुरु भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) मा जलवायु सङ्कटको गम्भीरता र त्यसको सामना गर्ने उपायबारे गम्भीर मन्थन र बहस सुरु भएको छ ।
बढ्दो तापक्रम, चरम मौसमी घटना र जलवायुजन्य विपद्ले पृथ्वीको पारिस्थितिकीय सन्तुलन र मानव अस्तित्वमै चुनौती थपिरहेका बेला त्यसको सामना गर्न विश्व समुदायले चाल्नुपर्ने कदमबारे सम्मेलनमा व्यापक छलफल भएको हो ।
कोपको उद्घाटनकै दिन (सोमबार) विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ)को अध्ययनले विश्वव्यापी तापक्रम वृद्धिको असामान्य क्रम जारी रहेको देखाएपछि जारी कोप–३१ मा उक्त विषयमा बहस तातिएको छ । यसो त विगतका कोपमा पनि विश्वको तापमान वृद्धिका कारण जलवायुजन्य सङ्कट निम्त्याइरहेको भन्दै तापक्रम वृद्धि रोक्ने विषयलाई प्रमुख प्रथामिकता दिँदै छलफल चल्ने गर्थे । शक्तिशाली एलनिनोका कारण सन् २०२७ सम्मै अत्यधिक गर्मी र चरम मौसमी घटनाको जोखिम बढ्ने डब्लुएमओको चेतावनी छ ।
डब्लुएमओको ‘जलवायुको अवस्था २०२६’ सम्बन्धी प्रतिवेदनको सन् २०२६ अहिलेसम्मकै सबैभन्दा तातो वर्षमध्ये शीर्ष चार वर्षभित्र पर्ने, एलनिनोका कारण तापक्रम थप बढ्ने र जलवायुजन्य जोखिम तीव्र रहने, समुद्री सतह र महासागरको तापक्रम अहिलेसम्मकै उच्च विन्दुमा, चरम मौसमी घटनाबाट ठूलो मानवीय तथा आर्थिक क्षति हुनेजस्ता मुख्य निष्कर्षले विश्वलाई चिन्तित बनाएको छ ।
प्रतिवेदनले विश्वव्यापी तापक्रम, समुद्री सतहको उचाइ र महासागरको तापक्रममा नयाँ रेकर्ड कायम भइरहेको उल्लेख गर्दै जलवायु परिवर्तनका असर थप गम्भीर बन्ने देखाएको छ । प्रतिवेदनअनुसार पछिल्ला १२ वर्ष अहिलेसम्मकै सबैभन्दा तातो वर्षका रूपमा रहेका छन् । सन् २०२३ देखि २०२६ सम्मका चार वर्ष सबैभन्दा तातो वर्ष बनेको प्रतिवेदन उल्लेख छ ।
सन् २०२६ को जनवरीदेखि सेप्टेम्बरसम्म विश्वको औसत सतही तापक्रम औद्योगिक युग सुरु हुनुअघिको औसतभन्दा एक दशमलव ४७ डिग्री सेल्सियस बढी पुगेको प्रतिवेदनमा उल्लेख छ । एलनिनोको प्रभाव बढ्दै गएकाले वर्षको अन्त्यसम्म तापक्रम अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
सन् २०२६ को डिसेम्बरसम्म एलनिनो अहिलेसम्मकै शक्तिशाली अवस्थामा पुग्न सक्ने र यसको प्रभाव सन् २०२७ को सुरुआतसम्म कायम रहने डब्लुएमओको आकलन छ । सामान्यतया एलनिनो विकसित भएको वर्षभन्दा त्यसपछिको वर्ष विश्वव्यापी तापक्रममा यसको प्रभाव बढी देखिने भएकाले सन् २०२७ मा समेत तापक्रम वृद्धिको जोखिम उच्च रहने प्रतिवेदनले औँल्याएको छ ।
डब्लुएमओका अनुसार पृथ्वीको ऊर्जा असन्तुलन बढ्दै गएको छ । हरितगृह ग्यासको बढ्दो उत्सर्जनले वायुमण्डलमा ताप थुनेर राख्दा पृथ्वीले प्राप्त गर्ने र बाहिर पठाउने ऊर्जाबीचको सन्तुलन बिग्रिएको हो । पृथ्वीमा सञ्चित भइरहेको अतिरिक्त तापमध्ये करिब ९० प्रतिशत महासागरले सोसिरहेको छ । सन् २०२६ लगातार दशौँ वर्ष महासागरको तापक्रमले नयाँ रेकर्ड कायम गर्ने वर्ष बन्ने देखिएको छ ।
त्यस्तै, समुद्री सतह अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ भने सन् २०२६ का विभिन्न महिनामा समुद्रको सतही तापक्रमले पनि नयाँ रेकर्ड बनाएको छ । हिमनदी पग्लिने क्रमसमेत निरन्तर जारी रहेको प्रतिवेदनमा उल्लेख छ । सन् २०२५ मा हिमनदीबाट भएको वार्षिक बरफको क्षति प्रत्येक सेकेन्डमा पाँचवटा ओलम्पिक आकारका पौडी पोखरी भर्ने बराबर रहेको जनाइएको छ ।
सन् २०१४ देखि स्वच्छ पानीको भण्डारणसमेत घट्दै गएको प्रतिवेदनले देखाएको छ । यसले पानीको उपलब्धता, खाद्य सुरक्षा र मानव जीवनमा थप चुनौती सिर्जना गर्ने जोखिम छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि बढ्दो तामान वृद्धिबारे चिन्ता जनाउनुभएको छ । कोपको उद्घाटनमा नै उहाँले मानव सिर्जित जलवायु परिवर्तनका कारण पहिले नै तातिरहेको पृथ्वीमा शक्तिशाली एलनिनोको प्रभाव थपिँदा जलवायुजन्य जोखिम बढिरहेको भन्दै चिन्ता जनाउनुभएको थियो ।


