हावाहुरी पीडितलाई पाँच महिनामै सरकारी घर !

अ+
अ
अ-

बारा । हावाहुरी तथा चक्रवातबाट ठूलो जनधनको क्षतिभएको बारा र पर्साका पीडित जनताका लागि निर्माण गरिएको घर हस्तान्तरण गरिएको छ । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको उपस्थितिमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज यहाँ आयोजित एक कार्यक्रममा बारा पर्साका प्रभावित स्थानीय तहका प्रमुखलाई घर हस्तान्तरण गरे ।

जनता आवास पुनःनिर्माण कार्यक्रम अन्तर्गत नेपाली सेनाले निर्माण गरेका घरहरु हस्तान्तरण गरिएको हो । बारा र पर्सामा हावाहुरी र असिना पानीबाट पीडित परिवारले पाँच महिनामै सरकारले बनाएको घर पाएका छन् । ‘सेनाले उद्धार गर्यो, औषधि दियो, आज फेरि घर बनाएर दिएको छ’ हावाहुरी पीडित बारा चैनपुरका मुनीलाल रामले भन्नुभयो, ‘हाम्रा लागि सेना भगवान बनेर आएको छ ।’

सेनाले पाँच महिनामै ८सय ६९ घर बनाएर हस्तान्तरण गरेको हो। बारा र पर्सामा गएको चैत १७गते विनाशकारी हावाहुरी चलेको थियो। नेपाली सेनाको जनता आवास निर्माण कार्यदलले बुधबार वीरगञ्जमा गरेको घर हस्तान्तरण कार्यक्रममा रक्षामन्त्री ईश्वर पोखरेलले पालिका, प्रदेश र सङ्घीय सरकारको आपसी समन्वय र नेपाली सेनाको कार्य दक्षताका कारण बारा र पर्साका हावाहुरी पीडितले घर पाएको बताउनु भयो ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष पहलमा नेपाली सेनाले छोटो अवधिमा घर बनाइदिएको भन्दै नेपाली सेनालाई धन्यवाद दिनुभयो। बाराका ८ सय ७ र पर्साका ६२ गरी ८सय ६९ घरको प्रमाणपत्र तथा नक्साको कागज रक्षामन्त्री पोखरेललाई हस्तान्तरण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्