समाचार

फनपार्कसँगै जोडिएको खाली जग्गामा राखिएका पसलहरू छानबिनमा तानिने

 प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपभित्र रहेको फनपार्कसँगै जोडिएको खाली जग्गामा राखिएका पसलहरू छानबिनमा तानिने डरका कारण हटाउन लगाएको पाइएको छ । ती पसलहरू बिनाप्रतिस्पर्धा राख्न दिइएकाले अनुसन्धानको घेरामा पर्ने डरले हटाउन लागिएको हो । फनपार्क र ल्यामःपुचःलाई भाडामा दिइएको भन्दा बाहेकको करिब तीन रोपनी क्षेत्रमा फैलिएको जग्गामा बिनाप्रतिस्पर्धा टहरो बनाई पसल राख्न लगाइएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघमा भृकुटीमण्डप हाताभित्रको ६० रोपनी जग्गा फनपार्कलाई भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रियाविपरीत गई अनियमितता गरेको भन्दै पूर्व समाज कल्याणमन्त्री बद्री न्यौपानेसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

विशेष अदालतमा मुद्दा दायर भएसँगै बिनाप्रतिस्पर्धा भाडामा दिइएको उक्त पसल बन्द गराइएको थियो । केही महिनादेखि ती पसलहरू केही हटाइए भने केहीमा जस्ताले बारेर राखिएको छ । ती पसल कसले बन्द गराएको हो भन्ने विषय अहिलेसम्म खुलेको छैन । ती पसल अनुसन्धानको घेरामा पर्ने डरले हटाउन लगाइएको समाज कल्याण परिषद् स्रोतले जनाएको छ । ती पसलहरू भृकुटीमण्डपको मुख्य प्रदर्शनी हलपट्टिको ढोकातिर निस्कने बाटोभरि थिए । ती पसलहरू वर्षाैंदेखि त्यहाँ सञ्चालित थिए । ती पसलबाट परिषद्लाई भाडा समेत नतिरेको परिषद् स्रोतले बताएको छ । ती पसलहरूको भाडा परिषद्को भृकुटीमण्डप सञ्चालन कार्यालयले उठाउनुपथ्र्याे तर त्यसो हुन सकेन । ती पसल ५ वर्षदेखि सञ्चालनमा रहेको परिषद् स्रोतले जनाएको छ । परिषद्ले एउटा पसलबाट मात्रै औसतमा महिनाको १४ हजार भाडा उठाउँदा १६ पसलको महिनामा २ लाख २४ हजार रुपियाँ आम्दानी गथ्र्याे ।

एक वर्षमा ती पसलबाट २६ लाख ८८ हजार आम्दानी हुन्थ्यो । यस्तै पाँच वर्षमा ती पसलबाट परिषद्ले १ करोड ३४ लाख ४० रुपियाँ आम्दानी गर्न सक्थ्यो। अर्थात् पाँच वर्षसम्म ती पसलबाट आम्दानी गर्न नसक्दा परिषद्लाई १ करोड ३४ लाख ४० हजार घाटा पुगेको छ । उक्त रकम उठ्न सके परिषद्को केही गुजरा चल्थ्यो । परिस्थिति त्यस्तो रहेन । यत्रो आम्दानी गर्ने पसलको बारेमा परिषद्का उच्च अधिकारीहरू अहिलेसम्म पनि मौनता साँधिरहेका छन् । परिषद्का कुनै उच्च अधिकारी यसबारे बोल्न चाहँदैनन् । ती पसलसँग परिषद्का केही पदाधिकारी र कर्मचारीको मिलेमतो रहेको परिषद्कै स्रोतको दाबी छ। यो पाटो पनि अहिलेसम्म खुल्न सकेको छैन । यस विषयमा भृकुटीमण्डप सञ्चालन कार्यालयका प्रमुख तथा उपनिर्देशक सञ्जयकुमार मल्लिकले सम्झौता विपरीत पसल बनाइएकाले हटाइएको हुनसक्ने बताए । ती पसल परिषद्ले गरेको सम्झौताअनुसार फनपार्क र ल्यामःपुचःको क्षेत्रभित्र पर्दैनन् ।

स्रोतका अनुसार ती पसललाई परिषद्कै केही कर्मचारीले गरिखाने भाँडो बनाएकाले छानविनमा पर्ने डरले तिनीहरूबाटै पसल बन्द गराउन लगाइएको हो । कार्यालय प्रमुख मल्लिकले भने अनुगमनका क्रममा सम्झौता विपरीत पसल राखेको भन्दै हटाउन लगाएको बताए । ‘हामीले बेलाबेला अनुगमन गर्छौं । त्यसक्रममा सम्झौता विपरीतका पसल भनेर हटाउन पटकपटक निर्देशनसमेत दिएका थियौँ’ –उनले भने । त्यो निर्देशन फनपार्कलाई कि ल्यामः पुचःलाई भन्ने विषयमा भने उनले केही प्रतिक्रिया दिए । बन्द गराइएका पसलहरूमा खाजा पसलदेखि कफी सप, आइसक्रिम पसल, घोडाचढीलगायत बाल मनोरञ्जनका प्रदर्शनीको १५ वटा सटर सञ्चालित थिए । 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *