समाचार
यस्तो छ आगामी ३ दिनको मौसम मौमस पूर्वानुमान
काठमाडौं : आगामी तीन दिन अर्थात् बुधबारसम्म छिटफुट वर्षा भए पनि ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्को अनुमान छ। मौमस पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार आउने तीन दिनसम्म देशभर बदली तथा छिटफुट वर्षा त हुन्छ तर त्यस्तो बाढी/डुबान हुने गरी वर्षा हुने सम्भावना छैन। उनका अनुसार काठमाडौं उपत्यकामा पनि छिटफुट वर्षाको सम्भावना छ।
‘तर पहाडी भेगमा पहिले कै वर्षाले जमिन गलेकाले सानो पानी पर्दा पनि पहिरो जान सक्छ,’ उनले भने, ‘त्यस कारण त्यस्ता क्षेत्रका बासिन्दाले सतर्कता अपनाउन जरुरी छ ।’ उनका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले नेपालभन्दा धेरै दक्षिण रहेकाले आगामी तीन दिन त्यस्तो ठूलो पानी पर्ने सम्भावना नरहेको हो। तर सानातिना र छिटफुट वर्षा भने जारी रहने उनले बताए।
माैसम महाशाखाका अनुसार अहिले देशभर सामान्य बदलीको अवस्था छ भने पश्चिमी पहाडी भू-भागका केही स्थानमा वर्षा भइरहेको छ। आज (सोमबार) विशेषगरी पश्चिमका पहाडी क्षेत्रमा मेघ गर्जन सहित वर्षा हुने सम्भावना छ। अन्य स्थानमा भने हल्का देखि मध्यमसम्म वर्षा हुने संकेत देखिएको मौसमविद् श्रेष्ठको भनाइ छ। तर तराई भेगमा भने आज वर्षा हुने सम्भावना कम रहेको र बादल पनि नलागेकाले गर्मी बढ्ने सम्भावना रहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस्

