समाचार
शिक्षकको सामूहिक कुटाइबाट संसार छाडे भनिएका छात्र माधबको बुवालाई सर्पले डसेपछि परिवारमा आइपर्यो अर्को विपत्ती
काठमाडौँ- शिक्षकको सामूहिक कुटाइबाट मृत्यु भएको भनी दाबी गरिएका छात्र माधव कलौनीका बुवालाई सर्पले डसेको छ । शनिबार राति भीमदत्त नगरपालिका ५ बनगाउँस्थित ससुराली घरमा सुतेका वृहस्पति कलौनीलाई सुतेकै अवस्थामा सर्पलेको डसेको बताइएको छ ।
सर्पको टोकाइबाट अचेत भएका कलौनीको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ । अचेत अवस्थामा रहेका वृहस्पतिलाई आइतबार दिउँसोदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको बताइएको छ ।
भीमदत्त नगरपालिका १७ मझगाउँस्थित महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको मृत्यु प्रकरणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित पाँचजनाका नाममा किटानी जाहेरी परेको छ ।
कुटपिट भएको १२औँ दिनमा माधवको उपचारकै क्रममा भारतको राममूर्ति अस्पतालमा मृत्यु भएको थियो । पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै शवको सदगत गर्ने भनेर पर्खिरहेको परिवारमा अर्को विपत्ति आइलागेको हो । अहिले परिवार गहिरो शोकमा रहेका छन् ।,

