समाचार
बाढी पहिरो वितण्डा : संखुवासभामा हालसम्मको क्षति विवरण
संखुवासभा / अविरल वर्षासंगै आएको पहिरोले संखुवासभाको पाँचखपन नगरपालिकामा दुई घरमा क्षति पुगेको छ । पहिरोले पाँचखपन १ र ५ नं। वडामा दुई घर भत्किएको छ । पाँचखपन १ मा राज कुमार राई भनेर चिनिने बिर बहादुर राईको घर भत्किएको वडाध्यक्ष टेक बहादुर बुढाथोकीले बताए ।
त्यसै गरी पहिरोले ५ नं। वडा पिपल डाडाँमा नरबहादुर तामाङको घर भत्किएको प्रहरीले जनाएको छ। निरन्तर वर्षाका कारण माथिबाट आएको पहिरोले तामाङको ग्वाली समेत पुरिएको जनाइएको छ । ग्वाली पुरिँदा एक हल गोरु समेत पुरिएको प्रहरीले जनाएको छ । त्यस्तै पहिरोले पाँचखपन ७ मा जलजला माध्यमिक विद्यालय बिहीबारेको २ कोठे पक्की शौचालय भवन बगाएको प्रहरीले जनाएको छ। विद्यालयको भवन समेत पहिरोको उच्च जोमिममा परेको बताइएको छ।

चैनपुरमा चार घर उच्च जोखिममापहिरोले चैनपुर नगरपालिका ४ पोखरी बजारमा चार घर पहिरोको उच्च जोखिममा परेका छन्। चैनपुर ४ का लिलाबहादुर कार्की, वर्तबहादुर राई, फुर्वा शेर्पा र पदमबहादुर राईको घर पहिरोको उच्च जोखिममा परेको नागरिक चासो कर्मी मोहन राईले जानकारी दिए ।
पानी निरन्तर परिरहेका कारण कुनै पनि बेला पहिरोले तान्ने अवस्था रहेको राईले जानकारी दिए । उनले भने घर मुनी सडक खनिएका कारण सडकको पहिरोले घर तान्ने अवस्था रहेको छ । हालसम्मको जानकारीमा जिल्लामा मानवीय क्षति भने भएको छैन ।

