
अमेरिका, ६ असार । अमेरिकामा १८ जना अप्रवासी नेपालीलाई पक्राउ गरी जेल हालिएको छ । ट्रम्प प्रशासनले आप्रवासनसम्बन्धी नीतिमा कडाइ गरेपछि १८ नेपालीसहित करिब ८० जना दक्षिण एसियालीहरूलाई पक्राउ गरिएको र रेगनको एउटा कारागारमा राखिएको छ ।
मध्यमस्तरको सेरिडन संघीय जेलमा राखिएका आप्रवासीमध्ये पूर्वी भारतका ५२ जना र नेपालका १८ जना रहेको बताइएको छ ।
त्यसबाहेक पाँचजना चिनियाँ र ३० जना मध्य–अमेरिकी देशहरूका आप्रवासी रहेको एसियन प्यासिफिक नेटवर्क अफ ओरेगन नामक संस्थाले जनाएको छ । पक्राउ गरिएकाहरूलाई उनीहरूका भाषाका आधारमा समूह बनाएर राखिएको र उनीहरूमध्ये धेरैले वकिलसँग आफूलाई कुराकानी गर्न नदिएको बताइएको छ ।
वाशिङटन डिसीस्थित नेपाली राजदूत अर्जुनकुमार कार्कीले पक्राउ परेको भनिएका नेपालीबारे दूतावाससँग कुनै पनि जानकारी नभएको बताएका छन ।
एउटा स्थानीय अनलाइन ओरेगन लाइभ डट कमका अनुसार ती आप्रवासीहरूलाई भेट्ने प्रयास गरेका वकिलहरूलाई संघीय अधिकारीहरूले सोमबार तेस्रो पटक पनि भेटघाट गर्न दिएनन् । ट्रम्पले गैरकानूनी रूपमा अमेरिका प्रवेश गर्न खोज्ने शरणार्थीविरुद्ध शून्य सहनशीलताको नीति लिएको घोषणा गरेपछि सीमामा कडाइ गरिएको छ ।

