समाचार

‘भारतीले नेपालको सीमा नजिक बनाएको घातक संरचनाका कारण देश चुर्लुम्म डुब्यो’

काठमाडौं : कुरा २०७३ साल साउन १४ गतेको हो, सप्तरीको तिलाठी स्थित खाँडो नदीमा भारतीय पक्षले जबरजस्ती बाँध बाध्न खोज्दा तिलाठीवासी प्रतिकारमा उत्रिएका थिए। दुबै पक्षबीच डरलाग्दो झडप भयो। दुबै पक्षका १२ जना गम्भीर घाइते भए । सप्तरीको तिलाठी निवासी देवनारायण यादव जो त्यसबखत ५६ बर्षका थिए ।

तिनै देवनारायण सहित अन्य घाइतेलाई देवत्वकरण गरेर एउटा दलले काठमाडौंको बल्खुमा ल्याएर सम्मान ग¥यो । त्यही दल अहिले फरक नाम अर्थात नेकपाको रुपमा सत्ताको नेतृत्व गरिरहेको छ । तर, बिडम्बना अहिले देश फेरि एक पटक चुलुम्म डुबेको छ, भारतीय पक्षले नेपालको सीमा नजिक बनाएको घातक संरचनाहरुका कारण ।

रौतहटको गौर लगायत धेरै भू–भाग जलमग्न बन्दा खाँडोको कथा त दोहोरिएन तर, अहिले चलेको सामाजिक सञ्जालका भित्ताहरुमा दर्दहरु पोखिए ‘गो ब्याक इण्डिया’ । रौतहटवासीको वेदनाको यो शैली नौलो भए पनि पीडा भने पूरानै हो । भारतले रौतहट भएर बग्ने बागमती र बकैया नदीमा बाँध बाँधेको छ । त्यो पनि अन्तर्राष्ट्रिय प्रावधान विपरित दशगजा क्षेत्रमा ।

‘नो म्यान्स ल्याण्डस्’ भनिने दशगजामा बाँध बाध्न भारतले नेपालको अनुमति लिनु पर्दैन र ? यही बाँधले गौर डुबाउन थालेको धेरै बर्ष वितेको छ। तर, बारम्बार दोहोरिने यो समस्याका लागि सुनुवाई कहिंकतैबाट भएको छैन। के यो राजनीतिक अकर्मण्यता होइन भनेर सोध्न मिल्छ सत्तामा बस्नु भएका, विपक्षमा रहनु भएका र बिभिन्न राजनीतिक दलका नेताहरुलाई ?

बागमती र बकैयामा बाँधेको बाँधबाट थुनिएको पानीले आफै विद्रोह गरेर दक्षिणतर्फ बग्दा रौतहटवासी धेरैले राहत पाए, नभए हामी निरिह चु–चु भनेर चुकचुकाउनु भन्दा बढी के गर्न सक्थ्यौं र? यो कथा यहाँमात्र सीमित छैन, सप्तरीको तिलाठी कोइलाडी, सखुवा र हनुमाननगर हुँदै बाँकेको सीमामा भारतले निर्माण गरेका लक्ष्मणपुर बाँध, कलकलवा मार्जिनल तटबन्ध, नवलपरासीको सुस्ता क्षेत्रमा बाँधिएको बाँध, कपिलवस्तुको सीमामा भारतले बनाएको बजाहा, महली सागर र मर्थी मझौली बाँधले नेपालतर्फको हजारौ हेक्टर खेतियोग्य जमीनलाई हरेक बर्ष वगरमा परिणत गर्नेक्रम जारी छ ।

त्यस्तै कैलाली भएर बग्ने कर्णाली नदीमा भारतले बनाएको कैलाशपुरी बाँधको कारण टिकापुर वासी डुबानको चपेटामा निरन्तर पर्दै आएका छन् । यता नवलपरासीको धेरै बासिन्दालाई बर्खा लाग्यो कि रातभर जागो रहनु पर्ने अवस्था छ । कारण हो नारायणी नदीमा भारतले बनाएको एकतर्फी बाँध । कुरा बाँधको मात्र नभई बाँधको नै भूमिका खेल्न सक्ने गरी भारतले नेपालको पूर्वी भेगदेखि पश्चिमसम्म बनाएको ५ मिटर अग्लो र ३० मिटर चौडाको सडकले नेपालतिर विनाशका अन्य ताण्डवहरु मच्चाउँदै आएको छ ।

नेपाल–भारतको सीमास्तम्भ देखि मुश्किलले १० मिटरको दुरीमा निर्मित यो सडक नेपाल डुबाउनका लागि नै हो भनेर धेरै पटक नागरिक स्तरबाट आवाज उठिसकेको छ । तर, सडकको बारेमा नेपालले अहिले सम्म कुनै प्रतिक्रिया नजनाउनु देश र आफ्नो जनता प्रतिको गद्दारी हो कि होइन ? यो प्रश्न निरन्तर उठिरहेका छन् र उठिरहनेछन् जबसम्म नेपाल डुबाउन छोड्दैन ।

कुरा यतिमा मात्र सीमित हुँदै सप्तकोशी नदीको तालाचाबी कोसँग छ? हरेक पुस्ताका नेपाली जानकार छन कोशीको वहावले खतराको विन्दू नाध्न थालेपछि ४० ढोका खोलिए आज । तर अब विहारमा विनाशको घण्टी बज्ने संकेत देखिए कोशीको ढोका बढ्ने नभई घट्ने निश्चित छ । आम सीमावासी नेपाली ढुक्कले भन्दै आएका छन् बाढीले त्यति ठूलो विनाश गर्दै आएको छैन जति सीमा क्षेत्रमा बाँधेको बाँधले गर्दै आएको छ ।

र, सीमा क्षेत्रमा बनाइएका लामो र अग्लो सडकले गर्दै आएको छ । आखिर कहिलेसम्म यसरी सबै सहेर बस्ने त ? डुवान पनि सहनु पर्ने ? पठाको विषादी पनि पिउदिनै पर्ने ? जे भन्छन् हस भन्नै पर्ने ? नाकाबन्दी जस्तो कठोर पीडामा त देश र नेताको कदम लाई साथ दिएर भोक प्यास पचाउने नेपाली नागरिक तिर हेरेर यो निरिहता त्याग्ने आँट गर्न नसकिएला र ? अब निर्णय लिनुपर्छ राज्यले ढिला गरिनु हुन्न ?

बाँध त नेपालबाट बगेको पानीले भत्काइहाल्छ नि भनेर काठमाडौंमा कोही पनि ढुक्कले निदाउन पाउनेवाला छैन । तराईको उर्वर भूमि नेपालका लागि अन्नको भण्डार हो । सुन झै लहलह झुल्ने धानको बाला नेपालको आत्म निर्भरता तर्फको यात्राको सुनौलो संकेत हो। तर, डुवानले दिन दिनै बगर बन्दै गर्दा यो हाम्रो पुस्ताले पछिल्लो पुस्तालाई बगर छोडेर जाने कि उर्बर भूमि यो गम्भीर प्रश्नमा अब सबै गम्भीर बन्न जरुरी भइसकेको छ । पछिल्लो पुस्ताले इतिहासका पाना पल्टाउँदा वर्तमान अर्थात् यो पुस्ताको हरफहरु पल्टा उन नचाहने अवस्था नलेखियोस ।

प्रतिक्रिया दिनुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *