समाचार

दुई बुँदे सहमतिपछि मेलम्ची आयोजनाको काम सञ्चालन गर्न कार्यदल

मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्राप्त गरी काम गर्न पुगेको कम्पनीलाई स्थानीय ठेकेदारले फर्काइदिएका स्थानीय ठेकेदारले दुई बुँदे सहमतिपछि काम सञ्चालन गर्न दिने भएका छन् । सोमबार सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङको पहलमा मेलम्चीमा भएको सरोकारवालाहरुको बैठकमा सो सहमति जुटेको हो ।

इटालेली कम्पनी सिएमसी भागेपछि बोलपत्र खुलाएर मेलम्चीले अर्को ठेक्का प्रक्रिया थालेको थियो । मेलम्ची खानेपानी आयोजनाको काम छाडेको इटालेली ठेकेदार कम्पनी सिएमसीले रकम भुक्तानी गर्न बाँकी स्थानीय ठेकेदार, सप्लायर्स र मजदुरले आयोजनाको काममा अवरोध गर्दै आएका थिए ।

बैठकमा आगामी असार २१ गतेभित्र स्थानीय ठेकदार, सप्लायर्स र आयोजनामा काम गरेका कामदारले पाउनुपर्ने रकम भुक्तानीका बारेमा प्रतिवेदन बुझाउने र आयोजनास्थलमा स्थानीयवासीले अवरोध नगर्ने सहमति जुटेको हो ।

छलफलबाट सिन्धुपाल्चोकका जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णगोपाल तामाङको संयोजकत्वमा ११ सदस्यीय कार्यदल बनाइएको छ । कार्यदलले उनीहरुले पाउनुपर्ने भुक्तानीका बारेमा प्रतिवेदन तयार गर्नेछ । पछिल्लोपटक काम गर्न गएको श्रेष्ठ कन्स्ट्रक्सनलाई उनीहरुले काम गर्न नदिई फिर्ता पठाएका थिए । छलफल कार्यक्रममा मेलम्ची खानेपानी विकास समितिका निर्देशक सूर्यराज कँडेलले स्थानीयवासीले उठाएका जायज मागको सम्बोधन गर्ने बताउनुभयो ।

स्थानीय ठेकेदार तथा सप्लायर्सले आयोजनाबाट भुक्तानी पाउनुपर्ने रकम छिटो उपलब्ध गराउन आग्रह गरेकोे जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णगोपाल तामाङले जानकारी दिनुभयो । असार २१ भित्र माग सम्बोधन गर्ने गरी सुनुवाइ नभए फेरि पनि आयोजनाको काममा अवरोध गर्ने स्थानीय सङ्र्घष समितिका अध्यक्ष उत्तरकुमार श्रेष्ठलेले चेतावनी दिनुभयो ।(रासस)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *