सिन्धुपाल्चोक – भूकम्पको चार वर्षपछि औपचारिक रूपमा मालवाहक सवारी साधन सञ्चालनमा आएको तातोपानी नाकामा व्यापारिक गतिविधि भने ठप्प छ । ऊन ल्याउँदै आंशिक रूपमा खुलाइएको नाकामा अहिले मालवाहक कन्टेनरसमेत गुडेका छैनन् । बर्खासँगै सीमा झनै उराठलाग्दो देखिएको छ । चीनतर्फ भौतिक संरचना र व्यापारिक स्थल पुनर्निर्माण भइरहेकाले तत्कालका लागि मालवाहक सवारी मात्रै सञ्चालन गरिएका थिए। ‘व्यापारिक तयारी भइरहेकाले कन्टेनर पनि खासै नेपाल भित्रिएका छैनन्, सबै संरचना यत्तिकै थन्किएझैं बसिरहेका छन्,’ भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले भने। सर्वसाधारणका लागि नाका नखुलाइएपछि चहलपहल नबढेको उनले सुनाए।
तातोपानी नाकाका व्यापारी भूकम्पअघिझैं व्यापारिक रूपमा तातोपानी नाका खुल्ने आसमा बसिरहेका छन्। ‘३ महिनापछि मात्रै कन्टेनर आउने भएपछि नाका बन्दजस्तै छ, नखुलेमा नाकाको कुनै अर्थ छैन,’ उनले भने। चिनियाँ राजदूत होउ याङ छिसँग जनप्रतिनिधिले विद्यालय, स्वास्थ्य, सडकलगायत पूर्वाधार निर्माण र सर्वसाधारणका लागि नाका खुलाउन अनुरोध गर्दै आएको पौडेलले बताए।नाका खुल्ने र व्यापार हुने आसमा लिपिङ पुल छेउ होटल, पसल थापेर बसिरहेका व्यवसायी निराश छन्। भोटेकोसी– २ तातोपानीका वडाध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठका अनुसार नाकालाई पूर्ण रूपमा खुलाउन पूर्वाधार बलियो बनाउन थालिएको छ।
चिनियाँ प्रतिनिधिले दर्जनौं भेट, छलफलमा भौतिक पूर्वाधार तयारी गरिरहेको र आफ्नो सरकारलाई यसबारे अनुरोध गरिरहेको बताउँदै आएका छन्। नाका खुलाउँदा नेपालबाट झन्डै १ सय ८२ प्रकारका सामग्री ९मुडा, खाद्यान्न, गलैंचा, ह्यान्डिक्राफ्टलगायत० चीनको ल्हासा पुग्ने सहमति गरिएको थियो। चीनबाट भने ऊन, जुत्ता, इलेक्ट्रिक सामान, कपडाजस्ता सयौं प्रकारका सामग्री नेपाल भित्रिने अनौपचारिक सहमति भएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष वेदबहादुर श्रेष्ठले बताए।कान्तिपुरमा खबर छ ।
‘नाका खुलेर पनि नखुलेजस्तो अनुभव भइरहेको छ, सर्वसाधारणले गरेर खाने ठाउँ भएन,’ तातोपानी बजारमा चार वर्षदेखि व्यवसाय गरिरहेकी सुनमाया शेर्पाले भनिन्। ‘भूकम्प, भोटेकोसी बाढी, बर्खैपिच्छेको पहिरोले भागाभाग बनाए पनि व्यवसाय छोडेनौं। अहिले टुलुटुलु हेरेर बस्नुपर्ने बाध्यता आयो,’ शेर्पाले भनिन्।



