गुण्डा नाइके राधे पेस्तोलसहित पक्राउ, ‘दुई प्रहरी घाइते’

अ+
अ
अ-

गुण्डा नाइके राधे (राधाकृष्ण भण्डारी) पक्राउ परेका छन् । बुधबार साँझ उनी धादिङको बेनिघाट रोराङ गाउँपालिका ३ बाट पक्राउ परेका हुन्। उनको साथबाट प्रहरीले पेस्तोलसमेत बरामद गरेको छ । प्रहरीलाई देखेपछि उनको समूह प्रहरीमाथि नै जाइलागेको थियो । सो क्रममा दुई प्रहरी घाइते भएका छन् ।

उनी तरुण दल धादिङका जिल्ला उपाध्यक्षसमेत हुन् । दुई वर्षअघि राधेको समूहले अन्धाधुन्ध खुँडा प्रहार गर्दा धादिङकै आयुप तामाङ गम्भीर घाइते भएका थिए । राधे प्रहरीको गुण्डाको लिस्टमा भएका व्यक्ति हुन् । उनले धादिङमा हुने ठेक्कापट्टा, अवैध बालुवा खानी लगायतको कमिसन लिने गरेको प्रहरीको भनाइ छ । अर्का गुण्डा नाइके दिनेश अधिकारी (चरी) समूहले राधेका भाइको हात काटिदिएपछि राधे समूह सक्रिय भएको थियो । त्यही रिसिइबीमा २०७० असार २१ मा धादिङबाट राजधानी फर्किने क्रममा राधेको समूहले ज्यान मार्ने उद्देश्यसहित चरीलाई गोली हानेको थियो । यो घटनामा राधे पक्राउ परेका थिए । तर राजनीतिक दबाबका कारण डेढ लाख धरौटीमा छुटे ।