चार वर्षीय प्रिजलको दुवै मिर्गौला फेल: उपचारका सहयोग माग्दै परिवार

अ+
अ
अ-

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मी निवासी पेशलकुमार मगर र दुर्गा आलेमगरको चार वर्षीय छोरा प्रिजल मगर ११ दिनदेखि कान्ति बाल अस्पताल काठमाडौँको सघन उपचार कक्ष (आइसियू) मा उपचाररत छन् । यही कातिक १२ गते सामान्य बान्ता गरेका प्रिजल एक्कासि गम्भीर बिरामी भएपछि उपचारका लागि कात्तिक १३ गते कान्ति बाल अस्पताल भर्ना गरिएको थियो ।

भर्खर विद्यालय भर्ना गरेर ‘कखरा’ सिक्दै गरेका प्रिजलको दुवै मिर्गाैला काम नलाग्ने भएको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूले बताएका छन् । अस्पताल भर्ना गरेको भोलिपल्टदेखि आइसियूमा राखेर उपचार सुरु गरिएको भन्दै प्रिजलको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले जनाएको छ ।

अस्पताल भर्ना गरेपछि अहिलेसम्म पिसाब पनि नगरेका प्रिजलको उपचार नेपालका कुनै पनि अस्पतालमा सम्भव नहुने उपचारमा संलग्न कान्ति बाल अस्पतालकी डा विमला बानियाँले बताउनुभयो । दिनानुदिन स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई कान्ति बाल अस्पतालले भारतको नयाँ दिल्लीस्थित सर गङ्गाराम अस्पताल लैजान सुझाव दिइएको उहाँले उल्लेख गर्नुभयो ।

भारत लगेर चाँडोभन्दा चाँडो उपचार गराउनुपर्ने अस्पतालले बताएको भन्दै बुबा पेशलकुमारले आफ्नो आर्थिक अवस्था कमजोर रहेकाले सहयोगका लागि अपिल गर्नुभएको छ । “आफूसँग भएको र आफन्तसँग सापटी लिएको रकमले उपचार गरिरहेका छौँ । उपचारमा संलग्न स्वास्थ्यकर्मीले यहाँ ठीक हुँदैन भन्नुभएको छ । बाहिर लगेर उपचार गर्ने खर्च हामीसँगै छैन”, उहाँले भन्नुभयो, “भारतको अस्पतालमा उपचार गर्न रु एक करोड बढी खर्च लाग्छ भन्ने बुझियो । यत्रो पैसा कसरी जुटाउनु ! सबैले सकेको सहयोग गरेर हाम्रो छोरा प्रिजलको ज्यान बचाइदिन अनुरोध छ ।”

जीवन र मरणको दोसाँधमा रहेका प्रिजलको जीवनरक्षाका लागि सबैले सकेको आर्थिक सहयोग गरिदिनहुन आग्रह गर्दै सामाजिक सञ्जाल ‘फेसबुक’मार्फत ‘प्रिजल मगर बचाऔँ’ अभियान सुरु गरिएको छ । प्रिजलको उपचार गर्न परिवारको आर्थिक अवस्थाले नधान्ने भएपछि सहयोग सङ्कलन अभियान सुरु गरिएको अभियानका सदस्य गिरिराज रानामगरले बताउनुभयो ।

प्रिजल मगर बचाऔँ अभियानका सदस्यहरूले आफन्त तथा शुभेच्छुकलाई सामाजिक सञ्जालका साथै प्रत्यक्ष भेट गरेर उपचारमा सहयोग गरिदिन अनुरोध गरिरहेका छन् । आर्थिक सहयोग गर्न चाहनुहुनेका लागि प्रिजलका बुबा पेशलकुमारको राष्ट्रिय वाणिज्य बैङ्कमा रहेको खाता नं २२७०१००००३१९००१० मा वा उपलब्ध गराइएको ‘क्युआर’ मार्फत सहयोग गरिदिन अभियानका सदस्य गिरिराजले अनुरोध गर्नुभयो ।