समाचार
थारूको छोरो हुँ भ्रष्टचारीलाई सडकमै पुर्याउँछु बरु पार्टीले कारबाही गरे, आफ्नै बारी खनेर खान्छु
इटहरी उपमहानगरपालिका अहिले विवादै विवादको घेरामा छ। विवादको मुख्य केन्द्र बनेका छन् यो उपमहानगरपालिका मेयर द्वारिकलाल चौधरी। उनीह केही समयदेखि कर्मचारी र पत्रकारलाई लक्षित गरी जथाभावी बोलिरहेका छन्। एकजना जनप्रतिनिधिले आफ्नो र पदीय मर्यादालाई समेत भुल्दै बोलेपछि उनको आलोचना भइरहेको छ। भ्रष्टाचारविरुद्ध अभियान छेडेको भनिएका चौधरीकै पक्षमा पनि आवाज उठिरहेको छ। पछिल्लो समय विवादित बनेका स्थानीय सरकारका जनप्रतिनिधिमध्ये अग्रस्थानमा द्वारिकलालको नाम आइरहेको छ। पछिल्लो समय पत्रकारलाई लोपार्नेदेखि नाकको डाँडी भाँच्न एक करोड विनियोजन गरेको धम्की दिएपछि चौधरी विवादको भूमरिमा परेका छन्।
‘पत्रकारको नाकको हड्डी भाँच्न’ एक करोड रुपैयाँ बजेट छुट्याएको अभिव्यक्ति सार्वजनिक भएपछि मेयर चौधरीमाथि नेकपाकै शीर्ष नेताहरु पनि खनिएका छन्। नेकपाकै स्थायी समिति सदस्य योगेश भट्टराई र शंकर पोखरेलले मेयर चौधरीले आत्मालोचना गर्नु पर्ने बताएका छन्। उनीहरुले मेयर चौधरी हक्की स्वभावका भएपनि अभिव्यक्तिको तरिका गलत भएकाले आत्मालोचना गर्नु पर्ने बताएका छन्।

नेकपाकै शीर्ष नेताहरुले आत्मालोचना गर्न सुझाएका छन् त्यसो नगरे तपाईँमाथि कारबाही होला नि? भन्ने प्रश्नमा मेयर चौधरीले ठाडो उत्तर दिँदै भने,‘कारबाही गरुन्, म थारुको छोरो हुँ। आफ्नै बारी खनेर खान्छु। पार्टीले मलाई के खान दिएको छ र?’
मेयर चौधरीले आत्मालोचना शब्द कम्युनिष्टहरुको थेगोजस्तै भएको टिप्पणी गरे। ‘मलाई आत्मालोचना गर भन्ने नेताहरु आफैले माफी मागुन् कि, मेरो कार्यकर्ताले तिमीलाई गाली गर्यो मलाई माफ गर भनेर’ उनले भने,‘मैले माफी माग्न के गल्ती गरेको छु र?’
उनले केही पत्रकारहरूले कमिसनखोरी र भ्रष्ट नेताहरूको इशारामा चलेर आफूलाई बदनाम गर्ने गरी लेखिरहेको आरोप लगाए। ‘पत्रकारहरुले पनि पित पत्रकारिता गरेका छन्। मैले चाटुकारिता भनेर कमेन्ट गरेर मैले के बिराए?,’उनले भने।


