समाचार
मोरङकाे छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
विराटनगर / मोरङका भिन्दा भिन्दै स्थानमा भएका दुईवटा दुर्घटनामा परेर दुई पुरुषको मृत्यु भएको छ । को २७ प ७३७५ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा बुढीगंगा गाउँपालिका–३ का ६५ वर्षीय सत्यनारायण माझीको मृत्यु भएको छ । पैदल यात्रु माझीलाई कोसी राजमार्गमा यही जेठ १७ गते मोटरसाइकलले ठक्कर दिएको थियो ।
उनको उपचारका क्रममा विराट टिचिङ अस्पतालमा बुधबार मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । दुर्घटनामा परेर मोटरसाइकल चालक पनि घाइते भएका थिए । घाइते चालक सुनसरी दुहवी नगरपालिका–१ का २३ वर्षीय समीर हुसेनको प्रहरी निगरानीमा उपचार भइरहेको जानकारी छ ।

त्यस्तै मोरङको बेलबारी नगरपालिका–१० लक्ष्मीमार्गमा मोटसाइकलले ठक्कर दिंदा भोजपुरको अरुण गाउँपालिका–७ घर भएका ५५ वर्षीय प्रितीबहादुर राईको मृत्यु भएको छ । पैदल हिंडिरहेको अवस्थामा यही जेठ ३ गते को ३३ प ९५ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा राई घाइते भएका थिए । प्रहरीका अनुसार राईको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा बुधबारनै मृत्यु भएको हो । घटनाको अनुसन्धान गर्न दुर्घटना गराउने मोटरसाइकल चालक सुनसरी रामधुनी नगरपालिका–५ का ३५ वर्षीय सुनिल राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

