समाचार
सकारको काम सन्तोसजनक भएन : सिटौला
विराटनगर / नेपाली कांग्रेसका नेता एवं पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले दुई तिहाइको नेकपा सरकारको एक वर्षे कार्यकाल सन्तोश जनक नभएको बताएका छन् । विराटनगरमा मंगलबार नेपाल प्रेस युनियन मोरङद्धारा आयोजित पत्रकार सम्मेलनका क्रममा नेता सिटौलाले भने, ‘चौतर्फी बम विष्फोट, असुरक्षा, न्यायालयमाथिको हस्तक्षेप, अर्थतन्त्रको अवस्था हेर्दा सरकारको काम कारवाही प्रगतिउन्मुख भन्न मिल्दैन ।’ उनले सरकारको एक वर्षे कार्यकाल हेर्दा सुशासन, राजनीतिक, आर्थिक सबै क्षेत्रमा फितलो रहेको टिप्पणी गरे । सरकारको गतिविधी जनताले प्रत्यक्ष रुपमा अनुभूत गर्न नपाएको उनको दाबी छ ।
मुलुकका विभिन्न स्थानमा भएका बम विष्फोट र कम्तीमा ४ जनाको मृत्यु भएको सन्दर्भमा नेता सिटौलाले भने, ‘सरकार र आन्दोलनरत विप्लव समूहबीचको काम गराईले जनता प्रताडित छन् । दुवैको गतिविधि जनता र देशको हित विपरित छ ।’ नयाँ ढंगबाट हिंसा आतंक सुरु भएको बताउँदै उनले विप्लव समूहलाई शान्तिपूर्ण ढंगबाट अघि बढ्न सुझाव दिए । उनले भने, ‘हिंसा त्याग्नुस् । संवाद र वार्ताबाट समस्याको निकास खोज्नुस् । यसैले देश र जनताको भलो गर्छ ।’

सरकार र विप्लव दुवै पक्ष समस्या समाधानतर्फ अग्रसर नभएको बताएका उनले भने, ‘हिजो १७ हजारको मृत्यु, हजारौं अपांग, वेपत्ताको अवस्था सृजना भयो र अब फेरि हामी त्यतै लम्कदैछौं । अब पुनः नेपालीको रगत बग्न थालेको छ ।’ सञ्चारकर्मीहरुले कांग्रेसको राष्ट्रिय जागरण अभियान बेमौसमी बाजा भएको प्रश्न राखिरहँदा नेता सिटौलाले राष्ट्रिय जागरण अभियान सकारात्मक सन्देश दिन सफल भएको भन्दै बचाव गरेका थिए । पार्टी भित्र प्रतिस्पर्धा हुनु नराम्रो नभएको बताउँदै उनले भने, ‘ प्रतिस्पर्धाले राम्रो काम गर्न सबै नेता कार्यकर्तालाई उर्जा दिन्छ । प्रेरणा दिन्छ ।’

