६ जेठ, काठमाडौं । उमेरले ११७ पुगिन् बाटुली लामिछाने । हालै सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि नुवाकोट ककनी ८ आरुचौरकी बाटुलीमा धेरैको ध्यान तानिएको छ । बाटुली आमाको नागरिकताका अनुसार उनी विस १९५९ सालमा जन्मिएकी हुन् । शनिबार मात्रै ककनीमा आयोजित एक कार्यक्रममा नेकपाका अध्यक्ष प्रचण्डले बाटुलीलाई सम्मान समेत गरे ।
गिनिज बुक अफ दी वल्र्ड रेकर्डमा विश्वकै सबभन्दा बढी उमेरकी महिलाको सूचिमा अहिले पनि जापानकी ११६ वर्षीय केन टनाकाको नाम छ । तर, नेपालकी बाटुलीलाई विश्वकै सबभन्दा बढी उमेरकी महिला भनेर चिनाउन आवश्यक पहल भएको देखिँदैन । उनै बाटुलीलाई भेट्न आइतबार हामी काठमाडौंबाट झण्डै २४ किलोमिटर पर नुवाकोटको ककनी गाउँपालिका पुग्यौं ।
गोगंबुबाट शिवपुरी जंगल हुँदै ककनी बजारमा पुगी खाना खाइ हामी थानसिङ छाप तर्फ लाग्यौं । हालै ट्याक खोलिएको बाटोबाट झण्डै २० मिनेटको यात्रापछि हामी थानसिङ छापस्थित बाटुली आमाको घरमा पुग्यौं । शनिबार कार्यक्रममा आउँदाको धपेडीले थाकेकी बाटुली आमा हामी त्यहाँ पुग्दा खाटमा पल्टिरहेकी थिइन् ।
हामी उनी उठिन्जेल पर्खिने मनस्थितिमा थियौं । तर, घरमा नयाँ मान्छे आएको थाहा पाएपछि उनको निन्द्रा टुट्यो । र विस्तारै बात मार्न थालिन् । उमेर धेरै भइसकेकाले उनको बोली बुझ्न सकिँदैन । तर, उनका छोरा, बुहारी, नातिनीले भने बाटुलीको अष्पष्ट उच्चारण पनि सजिलै खुट्याउँदा रहेछन् ।
बाटुली आमाको लट्पटिएको बोली बुझ्न नसक्ने भएकाले बाटुली आमाको आडैमा बसेर हामीले उनका ७७ वर्षीय छोरा नेत्रप्रसाद र बुहारी इश्वरीसँग कुराकानी गरेका छौं । उनका छोरा बुहारीले उनीबारे विस्तृतमा बताएका छन् । उनले के खान्छिन् ? के मन पर्छ ? जस्ता अनेकन प्रश्नको जवाफ भिडियो कुराकानीमा छ ।



