भेँडाबाख्राका रक्षक, गोठालाका सारथी

अ+
अ
अ-

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालको गोठमा पाँच वटा कुकुर छन् । बीस वर्ष संयुक्त अरब इमिरेट्स (युएई) मा रोजगारी गरेर फर्किनुभएका ५० वर्षीय छन्त्यालले आफ्नो फार्ममा रहेका ६०० भेँडाबाख्राको सुरक्षाका लागि ‘भोटे कुकुर’ पाल्नुभएको हो ।

“घना जङ्गल, अग्ला पहाड र विकट भूगोलमा महिनौँसम्म गोठमा बसेर भेँडाबाख्रा पालन गर्ने किसानका लागि कुकुर घरपालुवा जनावरमात्र होइन, भरपर्दो साथी र सुरक्षाकर्मी पनि हो”, छन्त्यालले भन्नुभयो “सयौँको सङ्ख्यामा रहेका पशुचौपायाको हेरचाहदेखि जङ्गली जनावरको आक्रमणबाट जोगाउनसम्म कुकुरले गोठालालाई सघाउँदै आएका छन् ।”

म्याग्दी, मुस्ताङ र ढोरपाटन क्षेत्रका घुम्ती गोठमा पशुपालन गर्ने किसानका लागि कुकुर अनिवार्य सहयोगी बनेका छन् । सहरबजारमा सोख र सुरक्षाका लागि कुकुर पाल्ने चलन भए पनि विकट पहाडी तथा हिमाली क्षेत्रमा पशुधनको रक्षाका लागि कुकुर पाल्नु किसानको बाध्यता र आवश्यकता दुवै भएको धवलागिरि गाउँपालिका–४ सिम्कोशका भेडापालक कृषक आस्मान पुर्जाले बताउनुभयो ।

उहाँका अनुसार यहाँका गोठालाले अग्लो शरीर, ३० किलोग्रामभन्दा बढी तौल र बलियो शारीरिक बनावट भएका कम्तीमा दुई वटा भोटे कुकुर पाल्ने गर्छन् । “देख्दै डरलाग्दा यी कुकुरले जङ्गली जनावरको चाल छिटो थाहा पाउने, गन्ध सुँघेर पत्ता लगाउने र खतराको सङ्केत गर्ने क्षमता राख्छन् । यस्ता कुकुरका छाउरा प्रतिगोटा रु १० हजारभन्दा बढी मूल्यमा बिक्री हुने गरेका छन्”, उहाँले भन्नुभयो ।

अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका ८१ वर्षीय लालवीर तिलिजाले सात दशकदेखि भेँडापालन गर्दै आउनुभएको छ । उहाँका अनुभवमा कुकुरबिना सयौँ पशुचौपायाको रेखदेख गर्न गोठालालाई निकै कठिन हुन्छ । “जङ्गली जनावरको चाल छिटो सुन्ने र सुँघेर पत्ता लगाउने विशेषता भएका कुकुरले गोठालाको दैनिकी सहज र सुरक्षित बनाएका छन्”, उहाँले भन्नुभयो, “कुकुर नहुने हो भने किसानले धेरै क्षति र दुःख बेहोर्नुपर्छ ।”

जङ्गलमा चितुवा, ब्वाँसो, भालु र स्यालको जोखिम हुने भएकाले कुकुरले गोठ र पशुधनको पहरेदारको काम गर्छन् । साँझ, राति र बिहान गोठ वरपर रुँगेर बस्ने कुकुरले अपरिचित मानिस वा जङ्गली जनावर देखेपछि चर्को स्वरमा भुकेर गोठालालाई सचेत गराउँछन् । आवश्यक पर्दा जनावरलाई लखेट्ने र प्रतिकार गर्ने भएकाले गोठालाको सुरक्षामा समेत सहयोग पुग्ने गरेको छ ।