मध्य जापानमा पाँच दशमलव सात म्याग्निच्युडको भूकम्प, कम्तीमा २४ जना घाइते

अ+
अ
अ-

मध्य जापानमा आइतबार बिहान पाँच दशमलव सात म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा २४ जना घाइते भएका छन् । भूकम्पका कारण भवनका झ्यालका सिसा फुट्नुका साथै रेल सेवा पनि अवरुद्ध भएको अधिकारी तथा स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार टोकियोको पश्चिममा पर्ने सिजुओका प्रिफेक्चरमा स्थानीय समयअनुसार बिहान १ः०४ बजे भूकम्प गएको थियो । भूकम्पपछि सुनामीको चेतावनी भने जारी गरिएको छैन ।

भूकम्पबाट कसैको मृत्यु भएको खबर प्राप्त नभए पनि पसलका झ्यालका सिसा फुटेका छन् भने दराज र ¥याकमा राखिएका सामान खसेका छन् ।

आइची क्षेत्रका एक आपत्कालीन सेवा अधिकारीका अनुसार सामान्य चोटपटक लागेका १६ जनाबारे जानकारी प्राप्त भएको छ । छिमेकी सिजुओका क्षेत्रका अधिकारीहरूले कम्तीमा तीन महिलाले उपचारका लागि अस्पताल पुगेको बताएका छन् । तीमध्ये ९० वर्ष उमेर समूहकी एक महिला भूकम्पको धक्काले ओछ्यानबाट खस्दा काँधमा चोट लागेको थियो ।

स्थानीय पत्रिका चुनिची सिम्बुन र तोकाई टेलिभिजनले छुट्टाछुट्टै समाचारमा आइची र सिजुओका क्षेत्रमा कम्तीमा २४ जना घाइते भएको जनाएका छन् ।

आइचीको तोयोहासी सहरमा एउटा कार प्रदर्शनी कक्षका झ्यालका सिसा फुटेका छन् । त्यस्तै, टोयोटा सहरको ठूलो पुस्तक पसलमा दराजबाट किताब तथा अन्य सामान खसेका छन् ।

भूकम्पका कारण आइतबार बिहान क्षेत्रीय रेल सेवासहित सिन्कान्सेन बुलेट रेलको सञ्चालनमा समेत ढिलाइ र अवरोध भएको थियो । भूकम्पको धक्का पश्चिममा ओसाकासम्म महसुस गरिएको थियो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार ओसाकामा एक विदेशी नागरिक भूकम्पको धक्काले आत्तिएर आफ्नो अपार्टमेन्टको दोस्रो तलाबाट खसेपछि अस्पताल भर्ना भएका छन् । यसबारे ओसाका अधिकारीबाट तत्काल थप जानकारी प्राप्त हुन सकेको छैन ।