काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो १० महिनामा गरेका काम कारबाही र भावी योजना आइतबार सार्वजनिक गर्यो। काम कारबाहीका तथ्यांकमा ठूलो हिस्सा चालक कारबाहीले ओगटेको छ।
महाशाखाका अनुसार यस अवधिमा काठमाडौं उपत्यकामा तीन लाख ८४ हजार दुई सय ६ जना चालकलाई विभिन्न कसुरमा कारबाही गरिएको थियो।
मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनेलाई गरिएको कारबाहीको संख्या २६ हजार पाँच सय ९८ रहेको छ। यसमा पुरुष चालक २६ हजार चार सय ९ जना छन्। यसैगरी महिला चालकको संख्या एक सय ९ रहेको छ। यीमध्ये १७ हजार ९ सय ५२ जना चालकको लाइसेन्समा प्वाल पारिएको महाशाखाले जनाएको छ।
मापसे गर्ने बाँकी चालक लाइसेन्स नहुने र डिजिटल लाइसेन्सधारी भएको महाशाखाले जनाएको छ। ‘ लाइसेन्स नहुने चालकको हकमा दुई हजार रुपैयाँ जरिवाना हुने गरेको छ। डिजिटल लाइसेन्स हुने चालकको हकमा पटके कायम गरि त्यसको अभिलेख राख्ने गरिएको छ। उनिहरुको हकमा पनि पाँचपटकसम्म पटके भए छैटौँ पटकमा लाइसेन्स निलम्बन गरिन्छ’, महाशाखा प्रमुख एसएसपी बसन्त पन्तले भने।
पछिल्लो १० महिनामा २८ जना चालकको लाइसेन्स निलम्बन गरिएको छ। ‘ पाँचपटकसम्म प्वाल पार्दा पनि नसुध्रिए लाइसेन्स नै निलम्बन गर्छौँ। चालकहरु सुध्रिउन भनेर यो व्यवस्था गरिएपनि केहि चालकहरुको लाइसेन्समा धेरैपटक प्वाल पारिएको र पटके कायम गरिएको तथ्यांक छ’, उनले भने।
सवारी दुर्घटनामा मादक पदार्थ सेवनलाई पनि प्रमुख कारण मानिएको छ। मादक पदार्थ सेवन गर्ने र लेन मिच्ने सवारी चालकलाई महाशाखाले कक्षा सन्चालन गर्ने गरेको छ। महाशाखाले यस्ता कक्षामा १३ जना नक्कली प्रशिक्षार्थी भेटेर कारबाहि गरिएको जनाइएको छ।



