एजेन्सी-भारतको गुजरातमा पब्जीको लत लागेकी एक महिलाले पतिसँग सम्बन्ध विच्छेद मागेकी छन् । पब्जीकै कारण कसैको सम्बन्ध विच्छेद हुन लागेको यो पहिलो पटक हो । अहमदाबादमा रहने १९ वर्षीया महिलाले पतिसँग सम्बन्ध विच्छेद चाहेकी हुन् । उनको एक वर्षभन्दा कम उमेरकी एउटी छोरी पनि छिन् ।
उनले पतिसँग सम्बन्ध विच्छेदको चाहना गर्दै पब्जी खेल्ने साथीसँग रहने इच्छा व्यक्त गरेकी छिन् । भारतिय मिडियाका अनुसार ती महिला एक प्रतिष्ठित परिवारसँग सम्बन्धित छिन् । उनी आफ्नो फैसलाप्रति अडिग छिन् र यो फैसलाका पछाडि घरेलु विवाद नरहेको पनि उनले बताएकी छिन् ।
‘पब्जी खेल्ने क्रममा अहमदाबाद शहरकै एक युवकसँग प्रेममा परेको र केही समय अघिदेखि उसँगै मिलेर पब्जी खेल्दै आएको ती महिलाले बताएकी छिन् । यसो त भारतमा पब्जीकै कारण भारतसम्म अहिलेसम्म १० भन्दा बढी घटना घटिसकेको छ । त्यसैगरी १६ जनालाई गिरफ्तार गरिएको छ । गुजरातमा प्रतिबन्धपछि पनि पब्जी खेलेका कारण १६ जनालाई गिरफ्तार गरिएको थियो ।



