काठमाण्डौ – सर्लाही गौरैता नगरपालिका वडा नम्बर १०– सिसौटियाकी ५ वर्षीया बालिका आकृतिकुमारी साहका बाबुले अस्पतालको लापवाहीका कारण आफ्नी छोरीले ज्यान गुमाएको करिब हप्ता दिन बढी समय हुन लाग्दा पनि आँफुहरुले न्याय नपाएको दुखेसो पोखेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बालिका आकृतिकुमारी साहका बुवा रामप्रवेश साहले आफ्नो परिवारको सध्य सदस्यलाई अस्पतालले गलत रगत चढाईदिनेजस्तो काम गरेर लापवाहीका कारण ज्यान गएको आरोप लगाएका हुन् । पत्रकार सम्मेलनको अवसरमा बालिका आकृतिकुमारी साहका बुवा रामप्रवेश साहले भने ‘हामी दिनहुँ न्याय खोज्दै विभिन्न सरकारी निकायहरुमा धाइरहेका छौँ । तर, न्याय पाएका छैनौँ । यसले हामीलाई अझै पीडा दिएको छ ।’
अस्पताललाई गम्भिर आरोप लगाउँदै बालिका आकृतिकुमारी साहका बुवा रामप्रवेश साहले भने शल्यक्रिया गर्नुपूर्व बिरामीको दुवै मिर्गौला ठिक रहेको तर शल्यक्रियापछि दुवै मिर्गौला फेल भएको रिपोर्ट देखाइएको छ । उनले थपे ‘शल्यक्रिया गरेलगत्तै मिर्गौला फेल भएको मेडिकल रिपोर्ट छ । हामीलाई यसमा पनि शंका लागेको छ । यसबारेमा सत्य–तथ्य छानबिन हुनुपर्छ ।’ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको शल्यक्रिया गर्दा फरक रगतका कारण आकृतिकुमारी साहको मृत्यु भएको थियो । आकृतिको शव हाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा छ ।



