इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका वार्ड नम्बर ९ बबियाका स्थानीयहरुले सडक अवरुद्ध गरेका छन् । इनरुवा-बबिया सडक खण्डमा चल्ने टिपरले धुलोले जनजीवन प्रभावित भएको भन्दै उनीहरूले आइतबार दिउँसो सडक अवरुद्ध गरेको हो । केहि दिनअघि सडक अवरुद्ध गर्दा पानी छर्ने सहमतिमा स्थायीहरुले सडक अवरुद्ध खोलेपनि सहमति कार्यान्वयन नभएको र अवस्थामा सुधार नआएको भन्दै उनीहरूले फेरि सडक अवरुद्ध गरेका हुन । करिब डेढ घण्टा बाटो अवरुद्ध भएपछि पुगेका इनरुवा नगरपालिकाका मेयर राजन मेहताले आक्रोशित स्थानीयबासी लाई शान्त पार्दै अवस्था सामान्य बनाएका थिए । स्थानीयबासीको माग जायज भएको भन्दै मेयर मेहताले बाटो निर्माण कार्यलाई गति दिन प्रदेश सरकार लाई आग्रह गर्ने बताए । नेपाल सरकारले राजमार्ग लाई सहायक राजमार्गको रूपमा घोषणा गरेको बताउदै मेयर मेहताले सखुवागाछी देखि बबिया सम्म निर्माण हुँदै गरेको सडक सहरी विकास मन्त्रालयले सडक बिभागसंग स्वीकृति लिएर निर्माण गरेको बताए ।
हरिनगर र देवानगन्जमा बन्दै गरेको बाटो निर्माणको सामाग्री टिपरले लादा धुलो उडेको कारण बबिया बासीले सडक अवरुद्ध गरेको बताए । इनरुवा क्षेत्रका सर्वसाधारणले आफूले निर्वाचित गराएको हुँदा इनरुवा नगरपालिका क्षेत्र भित्रको समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताए । तत्काल सो क्षेत्रका स्थानीयबासीको समस्या लाई समाधान गर्न इनरुवा नगरपालिकाले पानी छर्ने गरेको बताउदै मेयर मेहताले सम्बन्धित निकायले समस्याको समाधान नगरेको अवस्थामा जनताको चाहना अनुसार काम गरिने बताए ।



