भोलिदेखि वीरगञ्ज भन्सार नाका बन्द हुने, पेट्रोलियम पदार्थ अवस्था कस्तो हुन्छ ?

अ+
अ
अ-

पर्सा । भारतमा भइरहेको लोकसभाको निर्वाचनलाई लक्षित गरि वीरगञ्ज भन्सार नाका बन्द हुने भएको छ । सीमावर्ती भारतीय राज्य बिहारमा हुने तेस्रो चरणको लोकसभा निर्वाचनका लागि तीन दिन सीमा नाका बन्द हुने भएको छ । बिहारका हुन लागेको निर्वाचन वैशाख २७ गतेदेखि २९ गतेसम्म अर्थात मे १० देखि १२ तारिकसम्म ३ दिन नेपाल भारतको सीमा नाका बन्द हुने भएको हो ।

तीन दिनसम्म देशकै प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार नाका र सिर्सिया सुख्खा बन्दरगाह भन्सार नाका पनि बन्द हुनेछ । भारतीय पक्षको आग्रहमा लोकसभा निर्वाचनको सुरक्षालाई मध्यनजर गरेर तीन दिन सीमा नाका बन्द गर्न लागिएको जिल्ला प्रशासन पर्साले जनाएको छ । विगतमा ४८ घण्टा सीमा बन्द गर्ने गरिएको भए पनि दुवै पक्षको सहमति र समन्वयमा अबदेखि निर्वाचनको समयमा ७२ घण्टा सीमा नाका बन्द हुनेछ ।

वैशाख २७ गतेदेखि २९ गतेसम्म सीमा नाका बन्द गरेर सहयोग गर्न भारतीय पक्षले पत्राचार गरेको थियो । उनीहरुले अत्यावश्यक पेट्रोलियम पदार्थ नरोक्ने जानकारी गराएका छन् । बिहारलगायत ७ राज्यको ५९ लोकसभा सीटमा १२ मे अर्थात वैशाख २८ गते निर्वाचन हुँदैछ ।